नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा

काठमाडौं, ११ माघ । नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । भ्रष्टाचारसम्बन्धी सूचकांक निकाल्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको गत वर्ष (सन् २०२१) मा भएको भ्रष्टाचारको सूचकांक (सीपीआई)का अनुसार नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको हो ।
ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचकांकअनुसार गत वर्ष भ्रष्टाचारमा नेपालले १०० मा ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा सार्वजनिक गरेको यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार रहेको जनाउँछ ।
दक्षिण एसियाली मुलुकहरुमा नेपान भन्दा भुटान, भारत, माल्दिभ्स र श्रीलंका अगाडि छन् । भुटान ६८ अंक प्राप्त गरी २५औं स्थान, मालदिभ्स ४० अंक प्राप्त गरी ८५ औं स्थान, भारत ४० अंक प्राप्त गरी ८५ औं स्थान, श्रीलंका ३७ अंक प्राप्त गरी १०२ औं स्थान छन् भने पाकिस्तान २८ अंक प्राप्त गरी १४० औं स्थान, बङ्गलादेश २६ अंक प्राप्त गरी १४७ औं स्थान र अफगानिस्तान १६ अंक प्राप्त गरी १७४ औं स्थानमा रहेका छन् ।
ट्रान्सपरेन्सीले एक सय ८० देशको भ्रष्टाचारको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा सूचीकृत भएका छन् । ती मुलुकले सयमा ८८ अंक पाएका छन् । त्यस्तै, दक्षिण सुडान भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककाे सूचीमा परेकाे छ । ११ अंकसहित उक्त देश १८०औँ स्थानमा छ ।
तपाइँको प्रतिक्रिया