वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

८ चैत, देउखुरी। दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका-५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लग्नुभएकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो ।
उनीसँग अहिले पनि २० खसीबाख्रा छन् । ‘घर नजिकै जङ्गल छ, चराउन सजिलो होला भनेको झनै दुःख भयो, बेच्ने बेलामा बाघले खाएर मेहनत खेर गयो’, उनले भने, ‘खोर मै आएर खान्छ कि भन्ने डर हुन थाल्यो।’
यही ठाउँका मोहन वलीका तीन खसी गत असोजमा सोही जङ्गलमा चराउन लगेका समयमा बाघले मारिदियो । उनी भन्छन्, ‘वर्षभरि पालेका खसी बिक्री गरेर पैसा होला भन्ने बेलामा बाघले खायो, घर नजिकै वन छ, वनमा बाख्रा चराउँदा बाघले खान्छ, बाघ बाख्राको पछि लागि बस्तीसम्म आउँछ कि भन्ने डर लागिरहन्छ।’
यही फागुन २ गते राति लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले १७ बाख्रा एकै रातमा मारिदियो । ‘रातको समयमा बाघले बाख्रालाई आक्रमण गरेछ, पत्तै पाइएन, बिहान बाख्रालाई दाना दिन गएका बेला मरेको देखेपछि मात्रै थाहा भयो’, उनले भने, ‘दुःख गरेर पालेका बाख्रा बाघले एक रातमै सखाप बनाइदियो।’
तपाइँको प्रतिक्रिया