दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, ११ चैत्र । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सो दावी गरेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए ।
उनले भने, ‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन । गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं । यो कुरामा सरकार गम्भिर भएको जानकारी गराउँदै र तपाईहरुसँग नियमित छलफल र अन्तरक्रियामा रहने बचन दिन्छु ।’
तपाइँको प्रतिक्रिया