गैंडाकोट दोस्रो मेयर कप यु–२३ युवा फुटबल प्रतियोगिता हुने

गैंडाकोट, ११ चैत्र । गैंडाकोटमा गैंडाकोट दोस्रो मेयर कप अण्डर २३ युवा फुटबल २०७८ आयोजना हुने भएको छ । गैंडाकोट खेलकुद समितिको आयोजनामा यहि चैत्र १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता गैँडाकोट क्षेत्रिय रंगशालामा आयोजना हुनेछ ।
प्रतियोगितामा गैंडाकोट नगरपालिकाको प्रवद्र्धन, नगर युवा सञ्जाल गैंडाकोटको समन्वय तथा नवलपुर जिल्ला फुटबल संघ र युवा क्लब गैंडाकोट ४, ५ र ८ को सहयोग रहनेछ ।
आयोजक गैंडाकोट खेलकुद समितिले शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिता आयोजना गरिनेबारे जानकारी गराएको थियो ।
सो सम्मेलनमा बोल्दै गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ हुन लागेको उक्त प्रतियोगिताका लागि गैँडाकोट नगरपालिकाले ३ लाख ५० हजार बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार खेल सम्पन्न गर्नका लागि करिब साढे ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । कार्कीका अनुसार प्रतियोगितामा नगरपालिका भित्रको खेलाडीले मात्र सहभागि हुन सक्नेछ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र एवं दोस्रो हुने टिमलाई ३५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट टिम विधामा नगद ४ हजार सहित ट्रफी प्रदान गरिने छ । साथै हरेक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नगरका १८ वटै वडाको सहभागिता रहने पनि आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, जिल्ला फुटबल संघका सदस्य गौरवभक्त अधिकारी, युवा सञ्जालका नगर अध्यक्ष रोशन दर्लामी, गैंडाकोट खेलकुद समितिका उपाध्यक्ष रमेश तिवारी लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया