पदम लिम्बुको परिवारलाई ३ लाख दिने कोशी प्रदेश सरकारको निर्णय

काठमाडौँ, १३ चैत्र । कोशी प्रदेश सरकारले विराटनगरमा गत चैत ५ गते भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ) को परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।
प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ । मन्त्रिपरिषद बैठकले घटनाको छानबिनका लागि संघीय सरकारले गठन गरेको समितिलाई सहयोग गर्ने पनि निर्णय गरेको छ ।
‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभागी भई चैत १० गते श्री पदम लिम्बू (लाजेहाङ) को दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रद्धाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम् हार्दिक समवेदना प्रकट गर्दछ,’ प्रदेश सरकारको निर्णयमा भनिएको छ, ‘तत्काल राहत स्वरूप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने ।’
बैठकले प्रदेशको नामकरणका लागि भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरू, प्रदेश सभा सचिवालय र प्रदेश सभामा उपस्थित राजनीतिक दलहरुलाई धन्यवाद पनि दिएको छ ।
तपाइँको प्रतिक्रिया