आज रामनवमी : मौलाकालिका मन्दिरमा भक्तजनको भीड

गैँडाकोट, १६ चैत्र। आज बिहीबार रामनवमी पर्व, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरि श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ ।
हिन्दू धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथीमा पर्ने आजको दिनलाई भगवान् श्रीरामको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै नवदुर्गा देवीको पनि पूजा हुन्छ ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन हिन्दू धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन् । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
आजको दिन काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर, पशुपति आर्यघाटमा रहेको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने गरेको छ ।
गैंडाकोटको मौलाकालिका मन्दिरमा पनि बिहानै देखि दर्शनार्थीहरुको चहलपहल बढेको छ । विशेषगरि देशकै मध्यभागमा रहेको यस मन्दिरमा नवलपुर चितवन जिल्ला सँगै देशभरिका विभिन्न ठाउँ तथा छिमेकी राष्ट्र भारतबाट पनि तिथालुहरु दर्शन गर्न तथा धार्मिक भ्रमणका लागि आउने गर्दछन् । यस मन्दिरमा जानका लागि अहिले सिढीबाटो सँगै अटोसेवा समेत संचालनमा रहेको छ भने अब छिट्टै केबलकारको संचालन गर्ने तयारीमा रहेको छ । केबलकारको संचालन पछि यो क्षेत्रको महत्व अझै बढ्ने र दर्शनार्थीहरुको संख्या अझ बढ्ने मन्दिर ब्यवस्थापन समितिले लिएको छ ।
तपाइँको प्रतिक्रिया