मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने हो : प्रधानमन्त्री प्रचण्ड

चितवन, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको बताएका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै बिहीबार उनले आफ्नो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने भएको टिप्पणी गरे । उनले भने, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।”
उनले अब देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको दाबी गरेका छन् ।नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ,’ उनले भने ।
बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनुले छुट्टै महत्व बोकेको पनि उनले बताए । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने उनको विश्वास छ ।
तपाइँको प्रतिक्रिया