पूर्णबहादुर खड्काले भने, ‘मैले मन्त्री बन्दिन भनेको थिए, उपप्रधानमन्त्री होइन’

काठमाडौं, १८ चैत्र । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यसअघि मन्त्री बन्दिनँ भनेको र अहिले उपप्रधानमन्त्री बनेको बताएका छन् ।
उनले शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रयमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री नपाएको भए आफू अहिलेको सरकारमा सहभागी नहुने उनले बताए ।
यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा उनले आफू पटक पटक मन्त्री भएकाले अब फेरि मन्त्री नबन्ने भन्दै आएका थिए । उनको त्यही भनाइलाई लिएर सामाजिक सञ्चालमा आलोचना पनि भइरहेको छ ।
आफ्नो वचनबाट पछि नहटेको पनि उनले बताए। ‘अहिले सामाजिक सञ्जालमा आइरहेको छ। मन्त्री खान्न भन्नुभयो, मन्त्री बन्दिन भन्नुभयो, र फेरि मन्त्री बन्नुभयो भन्ने सामाजिक सञ्जालमा आइरहेको छ। मैले उपप्रधानमन्त्री बन्दैन कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिन भनेको हो। उपप्रधानमन्त्री बिनाको मन्त्री भएको भए म हुन्थिनँ,’ उनले भने।
पछिल्लो सात वर्षमा नेताहरुले मन्त्री प्रस्ताव गर्दा आफूले मन्त्री मात्र नबन्ने बताएको र अहिले उपप्रधानमन्त्री पनि बन्ने स्थिति आएपछि उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी लिएको उनले बताए ।
मन्त्री खड्काले आफूले रक्षामन्त्री रोज्नुको कारण बताएका छन्। उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले १९ वटा मन्त्रालयमध्येबाट कुन लिने भनेर रोज्न लगाएको सन्दर्भ बताए।
‘प्रधानमन्त्री र सभापति जीले मलाई गृह र अर्थको टुंगो लागेपछि, अब १९ वटा मन्त्रालय बाँकी छन्, पूर्णजी तपाईं त्यसमध्ये कुन छान्ने हो सोचेर जवाफ दिनुस् भनेर १९ वटा मन्त्रालयको छनोटको सौभाग्य पाएको छु। त्यो भन्दा ठूलो कुरा के हुन्छ,’ उनले भने।
त्यसपछि आफूले ती मन्त्रालयको अध्ययन गरेको पनि उनले बताए।
तपाइँको प्रतिक्रिया