सर्वोच्चमा रविविरुद्धको रिट दर्ता

काठमाडौं, २० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल) को रिट सर्वोच्चमा दर्ता भएको छ ।
युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए ।
अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ । आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।
त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।
तपाइँको प्रतिक्रिया