प्रधानमन्त्री प्रचण्ड, रवि र सन्दीप विरुद्दको मुद्दामाथि आज एकैदिन सुनुवाई

काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिन्छु भनेको अभिव्यक्तिविरुद्द गरेको रिटमाथि सर्वोच्चले आज सुनुवाइ गर्ने भएको हो ।
सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो। यद्यपि पछि पुन सर्वोच्चले नै उक्त निवेदनलाई दर्ता गर्न आदेश दिएको थियो ।
उक्त मुद्दाको रिट आज न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ। द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई पक्राउको आदेश माग गर्दै दायर गरेको थिए ।
सो रिट अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेका थिए । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सर्वोच्च अदालतमा आजै सुनुवाइ गर्ने भएको छ ।
लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो ।
सोमबार दायर भउको उक्त रिट मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा आज पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
सो रिट पनि रिट फुयाँलकै बेन्चमा आठौँ नम्बरमा परेको जनाइएको छ ।
अधिवक्ता युवराज पौडेलले लामिछानेविरुद्ध आज दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।
यसअघि नै उनले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो ।
उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् ।
सन्दीपको मुद्दामा पनि आजै सुनुवाई
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम पनि आजै सुनुवाई हुँदैछ ।
यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
त्यसपछि आजका लागि सुनुवाइ पेसी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ गते सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।
कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए ।
पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।news24
तपाइँको प्रतिक्रिया