अर्थतन्त्रलाई उकास्न सरकार लागि परेको छ : प्रचण्ड

गैँडाकोट, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको छोटो समयमा नै धेरै कामहरु सम्पन्न भएको बताउनुभएको छ । सोमबार गैँडाकोटमा आइएमइ ग्रुपले मौलाकालिका मन्दिर र स्थानीय साझेदारसँगको सहकार्यमा संचालनमा ल्याएको केबलकारको औपचारिक रुपमा उद्घाटन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।
“इ–पासपोर्ट देखि लाइसेन्समा लाइन डरलाग्दो थियो, अहिले समस्या छैन । विद्यालयमा पुस्तक नपुगेर १० वर्षसम्म हाम्रो के हालत थियो अहिले विद्यार्थी भर्ना हुनभन्दा अगाडी विकट ठाँउमा पनि पुस्तक पुगेको छ । विदेशमा गएका लाखौँ नेपालीका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरिया, राजश्व, रेमिट्यान्स बढ्दो क्रममा छ, वैंक व्याजदर अझै घटाउनेतर्फ हाम्रो जोडबल छ यस्तो धेरै काम भएका छन् ।” उहाँले बताउनुभयो ।
उहाँले गैँडाकोटमा मौलाकालि केबलकार निर्माण धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणकारी परियोजना रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नारायणी नदीमा गैँडाकोट तर्फको तटबन्धनको लागि सरकारमा गृहकार्य गराएको उल्लेख गर्दै त्यसको परिणाम गैँडाकोटवासीले छिट्टै देख्न पाउने आश्वासन दिनुभयोे पर्यटन क्षेत्रमा ठुलो योगदान पुग्ने बताउँदै यस्तो केवलकार देशका प्रत्येक जिल्लामा बनाउनुपर्नै बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले केबलकार स्थापनाले मुलुकको धार्मिक पर्यटन र विकासमा खुड्कीलो पार गरेको बताउनुभयो ।
यस्तै सासंद शशांक कोइरालाले गैँडाकोटमा अन्तराष्ट्रिय खेलमैदान, ट्रमा सेन्टर सञ्चालन गर्नका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले नेपाल कृषिप्रधान देश भएपनि कृषिमा लगानी न्युन रहेको बताउँदै कृषि क्षेत्रमा ठुलो मात्रामा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।
मौलाकाली केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको बेस स्टेसनमा सामान्य होटलसहित टप स्टेसनमा सुविधासम्पन्न तीन तारे होटल निर्माण गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कार्य अहिले जारी रहेको सो होटलमा ६० कोठासहित ४ हजार ५ सय जना अट्ने सभा हलको सुविधासम्पन्न होटलमा स्वीमिङ पुलसहित रुफटपमा हेलिप्याड लेण्डिङ स्टेसन समेत रहनेछ ।
केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिव ४ मिनेटको समय लाग्छ । केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ । केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् । नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।
तपाइँको प्रतिक्रिया