२०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गरौं : राप्रपा

काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न आग्रह गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाको टोलीले शुक्रबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै ठूला भ्रष्टाचारका फाइल खोलिनुपर्ने माग गरेका हुन्।
देशको अन्तरराष्ट्रिय छवि नै धुमिल गराउने गरि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउँन संगठितरूपमा राज्यशक्तिको दुरुपयोग प्रकरणले सारा नेपालीलाई अन्तरराष्ट्रिय जगतमा शीर निहर्याउनु पर्ने परिस्थिति सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख गरेको छ।
राप्रपाको ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तो राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै वहानामा पनि छुट दिन हुँदैन। वहालवाला सचिव र तात्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू समयक्रमसंगै सेलाएर जानका साथै ठूलाहरू खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मक्ति पाउने नजिरका कारण पूर्णरूपमा आश्वस्त हनसक्ने अवस्था सिर्जना भईसकेको छैन।’
राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकरणलाई कुनैपनि बहानामा लम्ब्याएर अलपत्र पार्ने कोसिसको गर्न नदिने बताएका छन्।
‘अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जोसुकैलाइ कारवाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ।
दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेल विरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्ने उल्लेख गरेको छ। विगतका ठूलठूला भ्रष्टाचार काण्डका फायलहरू खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर नसक्ने वातावरण निर्माण गर्न माग गरेको छ।
तपाइँको प्रतिक्रिया