जयश्री फुड्स प्रा.लिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ११५ जनाले गरे रक्तदान

गैँडाकोट, ३१ वैशाख । गैँडाकोटको जयश्री फुड्स प्रा.लि. ले आफ्नो ११ औँ वर्ष प्रवेशको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जयश्री फुड्सले नेपाल रेडक्रस सोसाईटी र नवजागरण ग्रामिण विकास केन्द्रसँगको सहकार्यमा गरेको उक्त रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेका छन्।
गैँडाकोट ९ स्थित रहेको उक्त प्रालिले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो । उहाँले व्यापारसँगै सामाजिक सेवामा सदैव लाग्ने विश्वास समेत दिलाउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले जयश्री फुड्सले कार्यक्रमको आयोजना गरी रक्तदान जस्तो मानवीय सहयोगमा गरेको योगदानको कदर गर्नुभएको थियो ।
सो अवसरमा ११५ पटक रक्तदान गर्ने रक्तदाता खुमनाथ पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति राजकुमार गुप्ताले रगत अत्यावश्यक भएपनि मानिसमा रक्तदान गर्ने चाहना न्युन भएको कारण ब्लड बैंकमा रगत कम भएको बताउनुभयो । उहाँले मानिसले गर्ने दानहरुमा रक्तदान महत्त्वपूर्ण रहेको बताँउदै यस्तो सराहनिय कार्यक्रमको आयोजना गर्ने आयोजकलाई धन्यवाद दिनुभयो ।
ग्रामिण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा गैँडाकोट ९ का वडाअध्यक्ष धामनाथ सापकोटा, गैँडाकोट ८ का वडाअध्क्ष प्रेम सापकोटा, गैँडाकोट ९ का निवर्तमान वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख रीता पौडेल, नेपाल रेडक्रस सोसाइटी गैँडाकोट शाखाका सभापति उमाकान्त सापकोटा लगायत जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया