गैँडाकोट नगरपालिका वडा नं–१ द्वारा ‘हाम्रो चिनारी’ नामक पुस्तकको विमोचन

गैँडाकोट, १३ माघ । गैँडाकोट नगरपालिका वडा नं–१ ले ‘हाम्रो चिनारी’ नामक पुस्तकको विमोचन गरेको छ । बिहीबार वडामा एक कार्यक्रमको आयोजना गरी वडा नम्वर १ का वडाध्यक्ष हरीप्रसाद सापकोटा, गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुमाया कंडेल लगायतले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।
१०६ पृष्ठ रहेको पुस्तकमा वडा कार्यालयले आफ्नो वडा को परिचय साथै वडाले गरेका कार्य, वडा भित्र रहेका धार्मिक, सांस्कृतिक तथा पर्यटकिय सम्पदाहरुको विवरण, वडाको भौगोलिक बनावट, विभिन्न जातजाती, जनसंख्या, वडाको प्रगती विवरण, वडा अन्तर्गत रहेको सार्वजनिक सरकारी निजी संघ संस्था युवा क्लवको जानकारी, विद्यालय, वडा स्तरिय तथ्याकं विवरण, वडामा विनियोजित बजेट, कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागी वडाले चालेको कदम र कार्य सम्पादन गरिसकेका तस्विरहरु समेत समावेश गरिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले वडा भित्रको विकाश र योजना निर्माणमा यो पुस्तक सहयोगी हुने समेत बताउनुभयो । उहाँले पछिल्लो समय पुस्तक अध्ययन गर्नेहरुको संख्या घट्दै गएको बताउँदै यस पुस्तकले युवाहरुलाई पढ्ने वानीको विकास गर्ने बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुमाया कंडेलले यस वडाले वडामा बालबालिकाको लागि महत्वपुर्ण काम गरेर बालमैत्री वडा घोषणा साथै महिला तथा अन्य सबै वर्गको हकहितको लागि कामहरु गरेर अब्बल वडा बन्न सफल भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाले यस वडा धार्मिक पर्यटकिय क्षेत्रका रुपमा रहेको भन्दै सबैसंग सहकार्य गरेर विकास निर्माणमा समेत अगाडि बढिरहेको उल्लेख गर्दै सबैले यसबाट सिक्नुपर्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले स्थानिय तहमा जिम्मेवारी सम्हालेदेखि हालसम्म भएका विकासनिर्माण तथा उपलब्धीलाई समेटेर पुस्तक प्रकाशन गरेको बताउनुभयो । जनप्रतिनिधिले एक कार्यकालमा के कति काम गरे वा वडामा के कस्तो परिवर्तन भयो भन्ने विषयमा पुस्तक अध्यनबाट स्पष्ट बुझ्न सकिने अध्यक्ष सापकोटाको भनाइ छ । आफ्नो कार्यकालमा भएगरेका काम तथा उपलब्धिहरूलाई पुस्तक प्रकाशन गरी अभिलेख राख्दा जनता समक्ष पारदर्शिता र भविष्यमा समेत स्मरणयोग्य हुने अध्यक्ष सापकोटाले बताउनुभयो ।
कार्यक्रममा पुस्तक प्रकाशनका प्रधान सम्पादक जगन्नाथ उपाध्यायले पुस्तकको वारेमा जानकारी दिदै यस पुस्तकमा वडामा हुने गतिविधीको साथै वडामा रहेकोे सवै विवरणहरु समावेश गरिएको बताउनुभएको थियो ।
सो अवसरमा कोभिड खोप सञ्चालनमा सहयोग पुर्याउने, वालमैत्री वडा घोषणामा सहयोग पुर्याउने, वडा कार्यालयमा सहयोग पुर्याउने, कोभिड १९ संक्रमण लकडाउनमा सहयोग पुर्याउने, सञ्चारमाध्यमबाट सहयोग पुर्याउने र वडा कार्यालयबाट विभिन्न कार्यमा सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा मौलाकालिका मन्दिर समितिका अध्यक्ष सालिकराम सापकोटा, प्रगती टोलबिकास सस्थाका अध्यक्ष खेमराज गिरि, हरियाली नेपालका अध्यक्ष गणेश सापकोटा, सरस्वती निकेतन मावीका प्रीन्सीपल भरतबाबु कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वडाका वडाध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडाकी महिला सदस्य सिता सापकोटाले स्वागत र वडाका सचिव पदमप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया