चितवन महोत्सव भोलि मात्रै, व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय(तस्बीरहरु)

चितवन, २७ पुष ।
चितवन महोत्सवमा स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरिएको छ । चितवन महोत्सव मूल आयोजक समितिको मंगलबार बसेको बैठकले महोत्सवमा व्यवसाय सञ्चालन गरेका व्यवसायीको ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको हो । कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देशन गरेसंगै मंगलबार उद्योग बाणिज्य संघ चितवनले बैठकबाट यस्तो निर्णय गरेको मूल आयोजक समिति संयोजक राजु श्रेष्ठले बताउनुभयो । महोत्सवको समयावधी अगावै महोत्सव समापन गनुपर्ने अवस्था रहेकाले स्टल व्यवस्थापन खर्च कटाएर रकम फिर्ता गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको नेतृत्वमा सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र र सर्वदलीय सर्वपक्षीय बैठकले जारी व्यवस्थापन समय सहित चितवन महोत्सव दुई दिन चल्न दिने र अरु महोत्सव रोक्ने निर्णय गरेको थियो । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव आइतबारदेखि नारायणी नदी किनारमा सुरु भएको हो । महोत्सव सुरु हुनु अगाडि माघ ४ गतेसम्म सञ्चालन हुने बताइएको थियो । यद्यपि जिल्लामा कोरोना सङ्क्रमण बढ्न थालेपछि १३औँ संस्करणको चितवन महोत्सव बुधबारसम्म मात्रै सञ्चालन हुने भएको छ ।
पुस २९ गते बिहीबारदेखि चितवन महोत्सव पूर्णरुपमा बन्द गरिने आयोजक उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । चितवन महोत्सव सुरुभएसँगै महोत्सव अवलोकनका लागि मानिसहरुको भीड लागेको थियो । मंगलबार समेत महोत्सव स्थलमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनुभयो । महोत्सव बिहीबारदेखि बन्द हुने भएपछि झन् महोत्सवमा भीड बढेको उहाँको भनाइ छ ।
तपाइँको प्रतिक्रिया