काँग्रेस चोकमा फेला पर्यो ४५ हजार, हराएका व्यक्तिलाई प्रमाणसहित सम्पर्क गर्न आग्रह

गैँडाकोट, १४ माघ ।
नवलपुरको गैँडाकोट–४ स्थित काँग्रेस चोकका स्थानीय ९० वर्षीय रामप्रसाद ओझाले भेटाउनु भएको ४५ हजार रुपैयाँ प्रमाणसहित खोज्न आएमा जसको हो उसैलाई प्रदान गर्ने बताउनु भएको छ । ओझा बाटोमा हिँड्दै गरेको अवस्थामा सो रकम माघ १३ गते भेटाउनुभएको हो । बाटोमा हिँड्दै गर्दा पैसा भेटाएको भन्दै ओझाले पैसा हराउने व्यक्तिले प्रमाणसहित सम्पर्क राख्न अनुरोध गर्नुभएको छ । सरकारले आफूलाई वृद्ध भत्ता दिइरहेको भन्दै ओझाले बाटोमा भेटाएको पैसा आफूलाई नचाहिने बताउनुभयो । यो पैसा जसको हो उसैलाई दिने मन भएको ओझाले बताउनुभयो ।
आफ्नो पैसा हराउँदा आफूलाई दुःख लाग्ने भएकोले यो पैसा हराउने व्यक्तिलाई साह्रै पीडा भएको हुनसक्ने भन्दै पैसा हराउने व्यक्तिलाई प्रदान गरिने बताउनुभयो । आफूले भेटाएको पैसा स्थानीय पाँच जनाको रोहबरमा गैँडाकोट ४ निवासी कमल प्रसाद पराजुलीलाई राख्न दिएको ओझाले बताउनुभयो । पैसा हराउने व्यक्तिले पराजुलीलाई सम्पर्क गर्न समेत ओझाले आग्रह गर्नुभयो । पैसासँग अरु कागजपत्र नभेटिएपछि पैसा हराउने व्यक्तिलाई बुझाउन नपाइएको पराजुलीले बताउनुभयो । पैसा हराउने व्यक्तिले प्रमाणसहित दावी गरेमा मिडियाको रोहबरमा पैसा बुझाइने पराजुलीको भनाइ छ ।
तपाइँको प्रतिक्रिया