स्थानिय तहको निर्वाचनबाट सत्ता गठवन्धन भाग्न खोज्यो : महेश बस्नेत

चितवन, १४ माघ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानिय तहको निर्वाचनबाट सत्ता गठवन्धन भाग्न खोजेको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी नेपाल चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता महेश बस्नेतले जेठ ६ गते रिक्त हुने स्थानिय तहको जनप्रतिनिधिका लागि चैत वा बैशाख भित्रै निर्वाचन गर्नुपर्ने बताउनुभयो । वैशाख २१ गतेभन्दा पछाडि स्थानिय तहको निर्वाचनलाई लान नहुने भन्दै बस्नेतले निर्वाचन पछि सार्ने कुराले देश द्वन्द्वमा फस्ने बताउनुभयो ।
सरकारले स्थानिय तहको निर्बाचनका लागि मिति घोषणा नगरे एमाले आन्दोलनमा जान बाध्य हुने उहाँको भनाई थियो । एमालेका जनबर्गिय संगठनले आन्दोलनका कार्यक्रमहरु सुरु गरेको भन्दै उहाँले संबिधानको अपव्याख्या गर्ने अधिकार कसैमा नरहेको बताउनुभयो । संबिधानको व्याख्या गर्ने अधिकार अदालतलाई मात्रै रहेको उहाँले जिकिर गर्नुभयो ।
सत्ता गठबन्धनमा रहेका व्यक्तिहरुलाई निर्वाचनमा आँफु हारीन्छ कि भन्ने शंका भएकाले सार्न खोजिएको बस्नेतको भनाइ छ । समयमा स्थानिय तहको निर्वाचन हुन नसकेमा अदालतको बिषय बन्ने उहाँले बताउनुभयो । स्थानिय तहको निर्वाचन समेत दुई चरणमा गरेको स्मरण गर्दै उहाँले अहिले तीन तहको निर्वाचन एकै पटक गर्ने भन्ने गरि गरिएको तर्क अव्यवहारीक रहेको बताउनुभयो ।
जनताको मौलिक हक अधिकार माथी चौतर्फी ढङ्गले प्रहार गर्न खोजिएको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै उहाँले आउँदो निर्वाचनमा सत्ता गठवन्धन नभई पार्टी एकीकरण गरेर निर्वाचनमा आउन आग्रह गर्नुभयो । देशमा एउटा प्रजातान्त्रिक पार्टी र एउटा कम्युनिष्ट पार्टी मात्रै जनताले रुचाएको उहाँको भनाई थियो ।
तपाइँको प्रतिक्रिया