दीपज्योति आधारभूत विद्यालयको भवन शिलान्यास

नवलपुर, १४ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१४ मा करिब रु एक करोड लागतमा विद्यालय भवन निर्माण सुरु गरिएको छ । दीपज्योति आधारभूत विद्यालयमा निर्माण हुने दुई तले भवनको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले शिलान्यास गर्नुभएको छ ।
भवनको शिलान्यास गर्दै नगरप्रमुख पौडेलले विद्यालय भवन समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । विद्यालय भवन गुणस्तरीय हुनुपर्ने भन्दै आफूले समय समयमा अनुगमन गर्ने समेत पौडेलको भनाइ छ । नगरपालिकाले गैँडाकोटमा शिक्षालाई महत्व दिँदै बजेट विनियोजन गरिरहेको उल्लेख गर्दै नगरप्रमुख पौडेलले सङ्घीय सरकारबाट समेत नगरभित्र शिक्षामा उल्लेख्य बजेट लगानी भइरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठकाअनुसार भवन निर्माणका लागि रु एक करोड २५ लाख बजेट विनियोजन भएकोमा हेटौँडाको रसभ कन्स्ट्रक्सन प्रालिले भ्याट सहित रु ९६ लाख ३५ हजारमा ठेक्का सम्भौता गरेको हो । आगामी असार मसान्तसम्म भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिसक्नेगरी निर्माण सम्झौता भएको उल्लेख गर्दै श्रेष्ठले दुई तले पक्की भवनमा ६ कोठा हुने भन्दै दुवै तलामा शौचालय निर्माण हुने जानकारी दिनुभयो । त्यस्तै, सोही रकमबाट विद्यालयको अर्को तीन कोठे भवनमा ट्रससमेत राख्नेगरी सम्झौता भएको श्रेष्ठले बताउनुभयो ।
कक्षा ५ सम्म सञ्चालन भइरहेको सो विद्यालयमा हाल १३८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवनको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख विष्णुकुमार कँडेल, गैँडाकोट–१४ कि वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोकिसरा रानामगर, विद्यालय भवन निर्माण समिति संयोजक यमनारायण आचार्यसहितको सहभागिता थियो ।
तपाइँको प्रतिक्रिया