गैँडाकोट नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर

गैँडाकोट, १४ माघ । गैँडाकोट नगरपालिका दुध उत्पादनमा आत्मनिर्भर बनेको छ । नगरपालिकामा उत्पादन भएको दुध नगरभित्र उपभोग गरी बाहिर निर्यात समेत हुने गरेपछि दुधमा आत्मनिर्भर बनेको नगरपालिकाको पशुपन्छी शाखा प्रमुख डाक्टर प्रमोद कुमार पौडेलले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकामा ५३० वटा व्यावसायिक फर्म दर्ता गरी गाई भैंसी पालन भइरहेको छ । जसबाट दैनिक ६० हजार लिटर दुध उत्पादन हुने गरेको छ । गाईको ४५ हजार लिटर र भैसीको १५ हजार लिटर दुध उत्पादन हुने गरेको हो । शाखा प्रमुख पौडेलका अनुसार यहाँ उत्पादन भएको दुध पोखरा काठमाडौ ठिमुरा जस्ता दुग्ध प्रशोधन क्षेत्रहरुमा निर्यात समेत गर्ने गरिएको छ । व्यवसायीक रुपमा दुध उत्पादन गर्ने किसानहरु वृद्धि हुनु र पशुपालन कृषकलाई प्रोत्साहन स्वरुप अनुदान समेत प्रदान गर्न थालेपछि दुध उत्पादनमा वृद्धि भएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाले करिव ५० लाखको दरले प्रति सहकारीलाई दुग्ध प्रशोधन सामाग्री खरीद तथा दुग्ध ढुवानी साधन खरीदमा सहयोग पुर्याउँदै आएको थियो । साथै यस नगरपालिकामा दुध उत्पादनलाई अझै प्रवर्धन गर्नका लागि वडा नम्वर ६ मा भैसीपालन समुह गठन गरेर अनुदान प्रदान गरेको र वडा नम्वर ११ मा गाईपालनलाई ५० जना कृषकलाई गाई थप गर्न अनुदान दिएको थियो ।
नगरपालिकाका १८ वटा वडामध्ये दुध उत्पादनका लागि प्रख्यात ६, ७, १०, ११, १२, १३ र १४ नम्वर वडा रहेका छन् ।
तपाइँको प्रतिक्रिया