काठमाडौंमा सार्वजनिक सवारीसाधनमा हट्यो जोरबिजोर, अरु के-के खुल्याे ? [आदेशसहित]

काठमाडौं, १५ माघ । काठमाडौंमा जोर बिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्दप्रसाद रिजालले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका छन् ।
कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।
सबै प्रकारका सभा, सम्मेलन, बैठक तथा सिनेमा हल, डान्सबार, दोहोरी, स्वीमिङ पुल, फुटसल, जीमखाना रङ्गशाला चिडियाखाना, कभर्ड हल महोत्सव, हाटलगायत भीडभाड हुने कार्यक्रम नगर्नरनगराउन भनिएको तर पूर्वनिर्धारित अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पालना गराइ प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न पाइने छ ।
शैक्षिक क्रियाकलाप भने माघ मसान्तसम्मका लागि भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्नुपर्ने छ । जनशक्ति भर्ना, परीक्षा वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यको मापदण्डपालना गरी सञ्चालन गर्न सकिने छ ।
तपाइँको प्रतिक्रिया