आलटाल नगरी एमसीसी पारित गरौं -बाबुराम भट्टराई

काठमाडौं, १७ माघ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले एमसीसीलाई नै लिएर प्रतिगमनविरोधी गठबन्धन नटुटोस् भन्दै आलटाल नगरी संसदबाट पारित गर्नुपर्ने बताएका हुन् । सबै एकमुख भएर जनतालाई बुझाउन आह्वान गर्दै उनले एमसीसी प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घॉटीको हाड नबनोस्समेत भनेका छन् ।
‘एमसीसी सम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।’ उनले सामाजिकस ञ्जालमार्फत भनेका छन्, ‘यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!’
हालै बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘एमसिसी सम्झौता पास नगरे गठबन्धन तोडिन्छ’ भनेको भन्ने समाचारहरुसमेत प्रकाशन भएका थिए । एमसीसी अगाडि बढाउन प्रधानमन्त्री देउवाले सक्रियता देखाए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने मौन रहेका छन् । दुवै नेताले अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने अडान राख्दै आएका छन ।
तपाइँको प्रतिक्रिया