बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।
भेटमा सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनमा एमसीसीको विषय पेचिलो बन्न गएको देखिन्छ । एमसीसी अनुमोदन गर्ने वा नगर्ने जिम्मेवारी संसद्को नै भएको भन्दै देउवा निर्णायक पहलमा जुटेका छन् भने प्रचण्ड अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने अडान राख्दै आएका छन ।
गठबन्धनको साझा धारणा बनाउन भन्दै एकीकृत समाजवादीका नेता झलनाथ खनालको नेतृत्वमा रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छैन । अहिलेसम्म ३ पटक कार्यदलको बैठक बसेको छ । कार्यदलका खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठ परिमार्जनको पक्षमा छन् भने सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको जोड यथास्थितिमै एमसीसी अगाडि बढाउनेमा छ । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सम्झौता खारेजीको पक्षमा छ ।
तपाइँको प्रतिक्रिया