गैँडाकोट स्वाभिमान र संगम अविरत एकीकरण भई बन्यो गण्डकी

गैँडाकोट, १९ माघ ।
नवलपुरको गैँडाकोटलाई कार्यक्षेत्र बनाएर बचत तथा ऋण कारोबार गर्दै आएका दुई वटा सहकारी संस्थाबीच एकीकरण भएको छ । गैँडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था र संगम अविरत बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हो । एकीकरण पश्चात बनेको गण्डकी बचत तथा ऋण सहकारी संस्थाले बुधबार संयुक्त साधारणसभा तथा एकीकरण घोषणा सभा गरेको छ । संस्थाले १७ सदस्यीय सञ्चालक समिति तथा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति समेत गठन गरेको छ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करिब १६ हजार सदस्य रहेको अध्यक्ष पोषणराज सुवेदीले जानकारी दिनुभयो । सहकारीले वित्तीय तथा गैरवित्तीय कारोबार गर्दै आएको उल्लेख गर्दै सुवेदीले वित्तीयतर्फ ऋण लगानी गर्दै सदस्यहरुको उद्यमशीलता वृद्धिको काम गर्दै आएको बताउनुभयो ।
त्यस्तै गैर वित्तीयतर्फ रक्तदान, सहकारी शिक्षासहितका विभिन्न चेतनामूलक काम गर्दै आएको सुवेदीले बताउनुभयो । एकीकरण पश्चात बनेको गण्डकी बचत तथा ऋण सहकारी संस्था गैँडाकोटको तेस्रो ठूलो सहकारी भएको समेत सुवेदीले जानकारी दिनुभयो । सहकारीको झण्डै पौने दुई अर्ब रुपैयाँ पुँजी रहेको सुवेदीको भनाइ छ । कार्यक्रममा बोल्दै नगरप्रमुख छत्रराज पौडेलले एकीकरण भएको गण्डकि सहकारीले थप प्रगति गर्ने बताउनु भयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाको सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले सहकारीहरु विधि र प्रविधिअनुसार चलेमा उत्कृष्ट मात्रै नभएर सर्वोत्कृष्ट हुँदै जाने बताउनुभयो । विधिअनुसार चलेका सहकारीहरुको विकासका लागि नगरपालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने गौतमको भनाइ थियो । कार्यक्रममा गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक गोविन्द सुवेदीले संस्थाको वासलात तथा उपाध्यक्ष केदार न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया