श्रीपञ्चमीको अवसरमा जनक नमुना मावि गैंडाकोटको विज्ञान प्रयोगशाला भवनको शिलान्यास

गैँडाकोट, २३ माघ । श्रीपञ्चमीको अवसर पारेर गैंडाकोट ५ मा अवस्थित जनक नमुना मावीले विज्ञान प्रयोगशाला भवनको शिलान्यास गरेको छ । विद्यालयका संस्थापक एवम् जग्गादाता परिवारका सदस्य मदनभक्त अधिकारीले आइतबार (सरस्वती पुजाको दिन) प्रयोगशाला भवनको शिलान्यास गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहाँले आफूहरुले विस २०२९ सालमा निःशुल्क उपलब्ध गराएको जमिनमा सुविधासम्पन्न भवन सहित गुणस्तरीय शिक्षाको थालनी हुन लागेकोमा खुसी लागेको बताउनुभयो । अव गरिव जनताका छोराछोरीले सहजै गुणस्तरीय शिक्षा पाउने दिन आएको उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कडेंलले सो जमिनको बीच भागमा सुविधा सम्पन्न दुईवटा शैक्षिक भवन निर्माण भइसकेकोे जानकारी दिदै आगामी शैक्षिकसत्रदेखि कक्षा सुरु हुने बताउनुभयो । साथै उहाँले यस विद्यालयमा आर्थिक अवस्था कमजोर भएका परिवारका वालवालिकाले निशुल्क गुणस्तरीय सरकारी शिक्षा हासिल गर्ने वातावरण बनेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रध्यान्याध्यापक चुडामणि शर्मा कडेँलले नमुना विद्यालय निर्माण गर्ने गुरुयोजना अनुसारनै विज्ञान प्रयोगशाला बन्ने बताउनुभयो । भवन २ करोड ४३ लाख लागतमा २०७९ असोज सम्म यो निर्माण सम्पन्न हुने उहाँको भनाई छ । तीन तलाको रहने भवनमा फिजिक्स,क्यामेस्ट्री,वायोलजी सहित कम्प्युटर ल्याव पनि हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासीका प्रमुख डोलराज पाण्डे, अभिभावक संघका अध्यक्ष शंकरनाथ आचार्य, विद्यालयका प्राचार्य चुडामणि शर्मा कडेँल लगायतले विद्यालयको प्रगतीको शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कडेँलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक मनोजविक्रम विष्टले स्वागत गर्नुभएको थियो भने शिक्षक विष्णुप्रसाद रिजालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
विद्यालयका संस्थापक मदनभक्त अधिकारीका पिता सुर्यभक्त अधिकारीले ३ विघा जमिन विद्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको थियो ।
तपाइँको प्रतिक्रिया