गैँडाकोट नगरपालिकामा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेको संख्या बढ्यो

गैँडाकोट, २८ माघ । नवलपरासीको गैँडाकोट नगरपालिकामा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नेको संख्या बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा अस्थायी साधन प्रयोग गर्नेको संख्यामा वृद्धि भएको नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकले देखाएको छ ।
प्रजनन स्वास्थ्यप्रति चासो राखेर अस्थाई परिवार नियोजनका साधनको प्रयोग गर्नेको संख्या उल्लेख्य रुपमा बृद्धि भएको गैंडाकोट नगरपालिका स्वास्थ शाखा प्रमुख झलकराज पौडेलले जानकारी गराउनुभयो । उहाँका अनुसार पहिला नागरिकमा चेतनाको अभावका कारण साधन प्रयोग गर्नेको संख्या न्युन हुन गएको थियो । पछि नगरपालिकाले प्रोत्साहनका कार्यक्रम गरेर अस्थायी साधन प्रयोग गर्नतर्फ आकर्षित गरेको हो । प्रमुख पौडेलले साधन प्रयोग गर्नेको संख्या बढ्नुमा अर्को कारण नगरका प्रत्येक वडामा स्वास्थ्य इकाई स्थापना भएको र यसले सबै नागरिक सेवाको पहुँचमा पुग्न सजिलो भएको समेत बताउनुभएको छ ।
यस्तै गैँडाकोट स्वास्थ्य शाखाकी सिनियर अनमी सीता देवी शर्माका अनुसार अस्थायी साधनहरुमा कण्डम, खाने चक्की पिल्स, तिन महिने सुइ ‘डिपो’, पाँच वर्षे अवधीको लागि ‘इम्प्लान्ट’ र १२ वर्षे अवधीको लागि ‘कपर्टी’ प्रयोग गर्ने गरिएको छ । अनमी शर्माले गत सालभन्दा चालु आर्थिक वर्षमा कण्डम प्रयोगकर्ता घटेको र अन्य अस्थायी साधन प्रयोग गर्नेको संख्यामा वृद्धि भएको बताउनुभयो ।
उहाँका अनुसार जसमा कण्डम प्रयोग गर्नेको संख्या हालसम्म ९२ जना रहेको छ । गतसालको तुलनामा यो १४६ जनाले कम हो । यसैगरी अस्थायी साधनमा पिल्स प्रयोग गर्नेको संख्या गतवर्ष ३७० रहेकोमा अहिले बढेर ३८२ पुगेको छ । त्यस्तै डिपो प्रयोग गर्ने गतवर्ष ४२४ जना रहेकोमा अहिले बढेर ४४४ जना, आई.यु.सी.डी. प्रयोग गर्ने ३८ जना रहेकोमा हालसम्म ३५ जनाले प्रयोग गरिसकेका छन् । र नगरपालिकाभित्र इम्प्लान्ट प्रयोग गर्नेहरु ५१० रहेकोमा हाल बढेर ७११ पुगेको छ ।
सिनियर अनमी शर्माका अनुसार नगरपालिका भित्रका तिनवटा स्वास्थ्य संस्थाबाट सन्तानको रहर पुगेका दम्पतीको लागि स्थायी बन्ध्याकरण समेत गर्ने गरिएको छ । स्थायी बन्ध्याकरणमा महिलाको लागि मिनिल्याप र पुरुषको लागि भ्यासेक्टोमी रहेको छ । त्यसअन्तर्गत गत आर्थिक वर्षमा १० जनाले स्थायी रुपमा बन्ध्याकरण गरेका थिए भने चालु आर्थिक वर्षमा ५ जनाले बन्ध्याकरण गरेका छन् । स्थायी बन्ध्याकरण लागि नगरपालिकाले शिविर सञ्चालन गर्ने गरेको छ ।
तपाइँको प्रतिक्रिया