गैँडाकोट नगरपालिकामा बसाई सरी आउनेको संख्या बढ्दो

गैँडाकोट, २९ माघ । गैँडाकोट नगरपालिकामा बसाइसराई गरी आउनेको संख्या बढ्दो छ । शहरमा विभिन्न खालको सेवा सुविधा सहजै प्राप्त हुने भएकाले नगरक्षेत्रमा विभिन्न ग्रामिण भेगबाट बसाइसरी आउनेको संख्या बढेको गैँडाकोट नगरपालिकाको तथ्याङमा उल्लेख छ । चालु आर्थिक वर्षको तथ्याङलाई हेर्ने हो भने बसाई सरी जानेको सख्याभन्दा बसाई सरी आउनेको संख्या बढी रहेको छ ।
गैँडाकोट नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखा प्रमुख देवेन्द्र बहादुर कुमालका अनुसार चालु आर्थिक वर्षको हालसम्म नगरपालिकाभित्र बसाई सरी आउने ३ सय ६० दर्ता संख्या रहेको छ जसमा सदस्य संख्या १ हजार ३ सय ९४ रहेको छ । त्यस्तै बसाई सरी जानेको संख्या भने १ सय ५ रहेको छ भने सदस्य संख्या ३ सय ८४ जना रहेको छ । यस्तै गत आर्थिक वर्षमा नगरपालिकामा वसाई सरी आउनेको संख्या ६ सय ११ रहेको छ भने बसाई सरी जानेको संख्या २ सय २६ रहेको शाखा प्रमुख कुमालले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाको १८ वटा वडाहरु मध्ये सबैभन्दा बढी वडा नम्बर ५ मा बसाइ सरी आउनेको संख्या बढी देखिएको छ । जसमा ५१ दर्ता संख्यामा २ सय १४ सदस्य संख्या बसाइसरी आएका छन् । गैँडाकोट नगरपालिकामा सबैभन्दा धेरै बसाइसरेर आउनेमा गण्डकी प्रदेशको वाग्लुङ जिल्लाका धेरै रहेको र वागमती प्रदेशबाट बाट बसाइ सरेर आउनेको संख्यामा बढी मात्रामा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गैँडाकोट नगरपालिका भरतपुर महानगरपालिकाको सिमानासंग जोडिएको भएका कारणपनि यस क्षेत्रमा बसाई सरेर आउनको संख्या बढ्न गएको हो ।
यस्तै गैँडाकोट नगरपालिकाकै वडा नम्बर १८ मा भने बसाई सरी आउने भन्दा बसाई सरी जानेको संख्या बढी देखिएको छ । जसमा ६ वटा दर्ता संख्यामा १९ जना परिवारको संख्याले सो स्थान छाडेका छन् । चालु आर्थिक वर्षमा यहाँ आउनेको दर्ता संख्या जम्मा २ रहेको छ भने सदस्य संख्या ७ जना रहेको छ । पञ्जिकरण उपशाखाका अनुसार, जति शहर क्षेत्रमा घर भयो त्यतिनै त्यहाँका मानिसले सेवा सुविधा खाज्ने बताँउछन् । त्यसकै कारणपनि अधिकांश प्राय उक्त स्थान छाडेर गैडाकोटकै शहरी क्षेत्रमा बसोबासकै लागि आएका हुन् ।
तपाइँको प्रतिक्रिया