प्रेस चौतारी नवलपुरको छैठौँ अधिवेशन : मर्यादित पत्रकारितामा जोड

नवलपुर, २८ पुस । प्रेस चौतारी नेपाल नवलपुर शाखाको छैठौँ अधिवेशनका क्रममा वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका छन् । मर्यादित पत्रकारिता भएमा मात्रै लोकतन्त्र बलियो हुने भन्दै उनीहरुले सत्यतथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रेस चौतारी नवलपुरको बुधबार भएको छैठौँ जिल्ला अधिवेशनका क्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य होमनाथ जैसीले पछिल्लो समय पत्रकारितामा समुदायको विश्वास बढ्दै गएको बताउनुभयो । पत्रकारिता विश्वनीय बन्नु भनेको समुदायले समचारप्रति विश्वास गर्नु भन्ने बुझिने भएकाले समाचार लेख्दा गम्भीर बन्नुपर्ने जैसीले बताउनुभयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष नारायण शर्माले पत्रकारहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
गठबन्धनका नाममा सबैभन्दा ठूलो शक्ति प्रेस चौतारीलाई एक्लाएर अगाडि बढ्न नहुने भन्दै नवलपुरमा सबैलाई मिलाएर महासंघ गठन गरिएको शर्माले बताउनुभयो । गण्डकी प्रदेशमा रहेका पत्रकार महासंघका जिल्ला शाखाहरुको भवन बनाउने काम अगाडि बढेको भन्दै नवपुरमा समेत नमूना सदरमुकाम निर्माण हुने ठाउँमा भवन बनाउने काम सुरु हुन लागेको शर्माको भनाइ छ । अधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य कृष्ण पौडेल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु होमनाथ जैसी, सागर पोख्रेल, राजेश सोनाम, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैबीच, प्रेस चौतारी नवलपुरको छैठौँ अधिवेशनका क्रममा जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई नगद सहित पुरस्कृत समेत गरिएको छ । रु १५ हजार राशिको प्रेस चौतारी सिर्जनशील पत्रकारिता पुरस्कारबाट इतराज गुरुङ र रु १० हजार राशिको कृष्णराज गिरी विकास पत्रकारिता पुरस्कारबाट शालिक कोइरालालाई पुरस्कृत गरिएको थियो । नेपाल पत्रकार महासंघ नवपुरका संयोजक हिमालदेव पंगेनीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन सत्रमा सदस्य ज्ञानु पंगेनीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया