भुमिहिनहरुलाई लालपूर्जा प्रदान गरेरै छोड्छु : अध्यक्ष तिमिल्सिना

चितवन, १ फागुन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भुमिहिनहरुलाई लालपूर्जा प्रदान गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रेस सेन्टर नेपाल, भरतपुर महानगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सनाले जिल्लामा रहेका सुकुमबासीलाई तीन चरणमा वर्गीकरण गरी लालपूर्जा वितरण गर्ने बताउनुभयो । उहाँले चितवनको माडीमा रहेको बाँदरझुलामा करिव ६० वर्षदखी बस्दै आएका भूमिहिन वासिन्दाको विषयमा अहिलेसम्म कुनै सुनुवाई हुन नसकेको बताउँदै आफुले त्यस ठाँउमा काम सुरु गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले, अहिलेको संविधानले गाँस, बाँस, कपास नभएका दलित र अन्य भूमिहिनलाई जसरी भएपनि राज्यले उपलब्ध गराउनु पर्ने भनेकोले पनि आफुलाई काम गर्न सजह भएको र अवसर मिलेको बताउनुभयो । उहाँले आफु चितवनमा २२ औँ आयोग अध्यक्षको रुपमा आएको र आफु अघिका २१ जना अध्यक्षले फाइलको पोका नखोलेको बताउँदै, आफुले फाइलको पोका खोलेर काम अघि बढाएको जिकिर गर्नुभयो । तिमिल्सिनाले, आफुले पार्टीकोलागि नभई पिडितहरुकोलागि काम गरेको दाबी गर्दै, पिडितहरुको आँखामा खुशी देखे आफु पनि खुशी हुने बताउनुभयो ।
उहाँका अनुसार भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरपालिकामा ५ हजार ५ सय ५९ जना र माडी नगरपालिकामा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।
तपाइँको प्रतिक्रिया