कांग्रेस संसदीय दलको निणर्य : एमसीसी पास गर्नुपर्छ

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस जिम्मेवार राजनीतिक दल भएकोले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाई एमसीसी पास गर्ने निर्णय भएको हो ।
बैठकपछि पत्रकारसंग कुरा गर्दे प्रधानमन्त्री एवं नेपाली कांग्रसका अध्यक्ष शेरबहादुर देउवाले नाफा घाटा नहेरी जे उचित हो सोहि निणर्य गर्ने बताए ।
‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन । जे उचित हो त्यहि निर्णय गर्ने हो’, देउवाले भने । उनले एमसीसीबारे कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै कांग्रेसजति प्रष्ट दल नेपालमै नभएको बताए ।‘कम्युनिष्टहरू सरकारमा हुँदा एउटा र विपक्षमा हुँदा अर्कै कुरा गर्छन् । कांग्रेसले दोहोरो कुरा गर्दैन । हिजो पनि हामी एमसीसीको पक्षमा थियौं, आज पनि छौं’, देउवाले भने ।
उनले संसदमा एमसीसी टेबुल गर्ने विषयमा सभामुखसँग आफूले छलफल गरिसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि एमसीसी पारित गर्न सघाउनुपर्ने बताए ।
‘ओलीजी आफैले ल्याएको प्रस्ताव हो नि । एमालेको मुख्य सचेतकले एमसीसी पारित गर्ने षड्यन्त्र भयो भनेछन् । एमालेकै अध्यक्ष प्रधानमन्त्री हुँदा ल्याएको प्रस्ताव पारित गर्दा कसरी षड्यन्त्र हुन्छ ?’, देउवाले भने ।
तपाइँको प्रतिक्रिया