चितवनमा मोटरसाइकल चोरीको अभियोगमा ६ जना पक्राउ

चितवन, २९ पुष ।
चितवनमा मोटरसाइकल चोरीको अभियोगमा ६ जना पक्राउ परेका छन् । विभिन्न समयमा चितवनलगायत अन्य जिल्लाका विभिन्न स्थानहरुबाट चोरी भएका मोटरसाईकलहरु चोरी कार्यमा संलग्न व्यक्तिहरुको खोज तलास गर्ने क्रममा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।मोटरसाइकलहरुको स्वरुप तथा नम्बर प्लेट परिवर्तन गरेको अवस्थामा मोटरसाइकलसहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका वडा नं. १ का २३ वर्षीय रूपेश गुरूङ, पर्साको बारागढी नगरपालिका वडा नं. १ का १९ वर्षीय रूपेश चौधरी, सोही स्थानका १९ वर्षीय रमेश पासवान, चितवनको रत्ननगर नगरपालिका वडा नं. १३ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. २३ मा मनकामना वर्कसप तथा रिकण्डिसन हाउस संचालन गरी बस्ने ३८ वर्षीय दिपेन्द्र कुमार श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २१ का ३० वर्षीय दावा तामाङ र कालिका नगरपालिका वडा नं. ५ का २० वर्षीय मञ्जित चौधरी रहेका छन् ।
उनीहरुमाथि चोरी सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले उनीहरुको साथबाट चार वटा मोटरसाइकल बरामद गरेको छ । जसमध्ये सेतोकालो रंगको यामाहा कम्पनीको आर फिफ्टिन मोटरसाइकल थान १ थान (नम्बर प्लेट हटाईएको अवस्थामा फेला परेको), वाग्मती प्रदेश ०३–०२ प ४१९१ नं. को २०० सिसिको पल्सर एन एस मोटरसाइकल थान १, प्रदेश २–०३–०१३ प ४६६९ न. को २०० सिसिको अपाचे मोटरसाइकल थान १ (वीरगञ्जबाट चोरी भएको) र रातो कालो रङ मिक्स भएको ना ५० प ७४८३ न. को २०० सिसिको पल्सर एनएस मोटरसाइकल थान १ रहेका छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरुले मोटरसाइकल चोरी गरिसकेपछि नम्बर प्लेट हटाउने, नम्बर प्लेट बदल्ने, रङ परिवर्तन गर्ने र एउटा जिल्लामा चोरी गरेका मोटरसाइकल अन्य जिल्लामा लगरे बिक्री वितरण गर्ने गरेको खुलेको छ ।
तपाइँको प्रतिक्रिया