बालबालिकाले अधिकारसँगै कर्तव्य र जिम्मेवारी बोध गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

कावासोती, ७ फागुन ।
अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् ।जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका वडा नं. १७ को संयुक्त आयोजनामा आज सम्पन्न भएको वडास्तरीय बालक्लवका पदाधिकारीहरुलाई तालिम कार्यक्रममा बोल्ने जनप्रतिनिधी र अन्य सरोकारवालाहरुले सो बताएका हुन ।
कावासोती नगरपालिका वडा नं. १७ का वडाअध्यक्ष छविलाल महत्तोले बालबालिकाहरुको अधिकार संरक्षण र सम्बद्र्धनमा नगर र वडाले बालमैत्री स्थानीय शासनको लागि पहल गरीराखेको र त्यसको प्रबद्र्धनको लागि बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिराखेको बताउनुभयो ।
उहाँले बालबालिकाहरुले पनि आफ्ना हक अधिकार प्राप्ती सँगै जिम्मेवारी र कर्तव्यमा समेत ध्यान दिनुपर्ने र तालिमहरुबाट सिकेका विषयहरु सही रुपमा कार्यान्वयनको लागि अनुरोध गर्नुभयो ।वडा सदस्य गिता वि.क.ले बालबालिकाहरुले आफ्नो हक अधिकार प्राप्तीको लागि समुहमा बसेर कामहरु गर्नुपर्ने र सोही अनुसार नै योजनाहरु निर्माण गरेर अगाडी बढ्नको लागि र आफ्नो तर्फबाट सदैव सहयोग हुनेमा जोड दिनुभयो ।किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोती नगरका सवै वडामा गठन भएका वडास्तरीय बालक्लव सञ्जालका पदाधिकारीहरु र अन्य बालबालिकाहरुको क्षमता अभिबृद्धीको लागि तालिमहरु सञ्चालन गरिराखेको आयोजक संस्थाका राधादेवी बोटेले बताउनुभयो ।
तालिममा बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, नेपालको संविधानमा बालअधिकार र यसको अवस्था, किशोरकिशोरीका सवालहरु, बालमैत्री स्थानीय शासनको बारेमा सेसन सञ्चालन गरिएको सहजकर्ता आशा वि.क.ले बताउनुभयो ।तालिममा सहभागी मध्ये सरस्वती पराजुलीले यसरी बेला बेलामा तालिमहरु सञ्चालन गर्ने हो भने बालबालिकाहरुले नयाँ विषय सँगै बालमैत्री अभियान र किशोरी मैत्री बाताबरणको लागि सहयोग पुग्ने हुनाले नियमित रुपमा सञ्चालनको लागि अनुरोध गर्नुभयो ।तालिममा वडास्तरीय बालसञ्जालका पदाधिकारीहरु र अन्य विभिन्न टोल र विद्यालयमा रहेका बालक्लवका प्रतिनिधीहरु गरी ४५ जनाको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया