प्रधानमन्त्री रोजगार कार्यक्रम : गैँडाकोटमा बेरोजगार व्यक्तिहरुलाई फाराम भर्न आग्रह

गैँडाकोट, ९ फागुन । गैँडाकोट नगरपालिकाले बेरोजगार भएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नगरपालिकाले सुचना जारी गर्दै आगामी आर्थिक वर्ष २०७९ र २०८० मा स्थानीय तह मातहत रहेका बेरोजगार व्यक्तिहरुलाई रोजगारीको निम्ति फाराम भर्न आग्रह गरेको हो ।
गैँडाकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीका अनुसार १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न ईच्छुक व्यक्तिहरुले यहि फागुन मसान्तभित्र आफू स्थायी रुपमा बसोबास गर्ने वडामा गएर फारम भर्न सक्नेछन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा नगरपालिकाले ४१० जनालाई रोजगार दिइराखेको अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२ लाख रुपैँया निकासा भएको थियो । त्यसमा नगरपालिकाले ७ वटा योजना बनाएर काम अगाडि बढाएको थियो ।
सात योजनामा ४ वटा योजना सम्पन्न भइसकेको छ । यस्तै नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा कुल १४ लाख ७९ हजार १३९ रुपैँया विनियोजन भएको थियो । त्यसमा नगरपालिकाले निर्माण गरेको ६ वटा योजना सम्पन्न गर्नका लागि १३१ जनालाई रोजगारी दिइएको थियो । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २४३ जनाले रोजगार पाएका थिए । जसको लागि ५२ लाख ५ हजार ३११ रुपैँया छुट्याइएको अधिकृत सुवेदीको भनाई छ ।
उहाँका अनुसार कतिपय नगरपालिकाद्वारा सञ्चालन हुने कार्यक्रमहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसंग साझेदारी गरेर काम अगाडि बढाइराखेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गर्ने श्रमिकलाई दैनिक ज्याला ५७७ छुट्याइएको भएपनि स्थानिय दर रेटको ८० प्रतिशत वा नेपाल सरकारले तोकेको जुन बढि हुन्छ त्यो दिने निर्णय भएको अधिकृत सुवेदीले बताउनुभयो । कार्यक्रम अन्तर्गत गैँडाकोट नगरपालिकामा खेलमैदान मर्मत, वृक्षारोपण, विद्यालय कम्पाउण्ड वाल निर्माण, रंग रोगन, सडक स्तरोन्नती तथा ट्रयाक निर्माण, तटबन्धका लागि ग्याविन जाली भर्ने, सिंचाइ कुलो मर्मत सरसफाई जस्ता कामहरु भएका छन् ।
तपाइँको प्रतिक्रिया