कालिका पावरले पहिलोपटक लाभांश वितरण गर्यो

चितवन, ३० पुस । स्थापनाको पाँच वर्षपछि कालिका पावर कम्पनी लिमिटेडले १५ प्रतिशत शेयर लाभांश वितरण गरेको छ ।
चितवनको भरतपुरमा शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले कम्पनीका शेयर होल्डरहरुलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीका सचिव किशोर कुमार डङ्गोलले जानकारी दिनुभयो ।
गोरखाको अजिरकोट गाउँपालिकामा दरौँदी खोलाबाट ६ मेघावाट विद्युत् उत्पादन गर्दै आएको कालिका पावरले उत्पादन सुरु गरेको पाँच वर्षपछि यस वर्ष पहिलो पटक शेयर लाभांश वितरण गरेको हो । कम्पनीले रु ६० करोड पुँजीको १५ प्रतिशत हुन आउने रकमको रु नौ करोड बराबरको शेयर लाभांश प्रदान गरेको डङ्गोलले बताउनुभयो ।
कालिका पावरको ६० लाख कित्ता शेयरमध्ये संस्थापक शेयर धनीहरुको ४२ लाख, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि छ लाख कित्ता र कर्मचारी र सर्वसाधारणहरुको १२ लाख कित्ता शेयर रहेको छ । यसैबीच, कम्पनीका संस्थापक शेयर धनी एवं पूर्वमन्त्री विक्रम पाण्डेले सोही दरौँदी खोलाबाट थप १८ मेघावाट विद्युत् उत्पादन गर्नेगरी दुई वटा परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
गोरखाकै बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकामा एकै ठाउँमा ८.२ मेघावाट र ९.८ मेघावाटको दुई वटा परियोजना सञ्चालन गर्न लागिएको पाण्डेले बताउनुभयो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु तीन अर्ब ५० करोड लागतमा दुई वटा आयोजना यसै वर्ष सञ्चालन गरिने पाण्डेले बताउनुभयो । १८ मेघावाट विद्युत् उत्पादनका लागि एक वर्ष भित्र हकप्रद शेयर निकाल्ने तयारी गरिएको समेत पाण्डेको भनाइ छ ।
तपाइँको प्रतिक्रिया