गैँडाकोट ८ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

गैँडाकोट, १० फागुन । गैंडाकोट नगरपालिका न्यायिक समितिले मङ्गलबार गैंडाकोट ८ मा न्यायिक सचेतना कार्यक्रम गरेको छ । वडाका दिदिबहिनीलाइ न्यायिक समितिको अधिकार क्षेत्र र कानुनी पाटोका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै गैंडाकोट नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विष्णुकुमारी कंडेलले समाजलाई समाजका व्यक्ति नै आवश्यकता हुने हुँदा साना विषयलाई विवादको विषय बनाउन नहुने बताउनुभयो । उहाँले सकेसम्म विवाद नै नगर्न आग्रह गर्दै स्थानीय रुपमा सिर्जीत बिबादलाई स्थानीय रुपमा नै समाधान गर्न सके राम्रो हुने बताउनुभयो ।
उहाँले विवादमुक्त वडा बनाउन सबै लाग्नुपर्ने बताउँदै कुनै समस्या भए नगरपालिकाको न्यायिक समिति तथा वडामा रहेका मेलमिलापकर्तालाई सम्पर्क गर्न आग्रह गर्नुभयो । उपप्रमुख कंडेलले अहिलेसम्म न्यायिक समितिमा ३४४ वटा उजुरी दर्ता भएको बताउनुभयो । त्यसमा ३१५ वटा मेलमिलाप गराइसकेको, २५ वटा उजुरी प्रक्रियाको लागि वडा वडामा पठाइएको २ वटा निर्णय गरिसकेको र बाँकी २ वटा अदालती प्रक्रियामा पुगेको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै वडा नम्वर ८ का वडाध्यक्ष डिलाराम रिजालले वडामा महिला दिदिबहिनी सक्रिय रहेको भन्दै उनीहरुले विवाद रहित वडा बनाउनेमा विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा गैँडाकोट नगरपालिका न्यायिक समिति सदस्य सुरेन्द्रप्रसाद रेग्मीले न्यायिक समितिमा दर्ता हुन आउने मुद्धालाई आफुहरुले दुवै पक्षलाई जित जितको महसुस हुने गरी निरुपण गर्दे आएको बताउनुभएको थियो ।
सो सचेतना कार्यक्रममा महिला दिदिबहिनीलाई कानुनी पाटोका बारेका जानकारी अधिवक्ता कृष्ण पन्तले प्रशिक्षण दिनुभएको थियो । वडा नम्वर ८ का वडाध्यक्ष डिलाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत न्यायिक समितिका सदस्य छविकला पाण्डेले र कार्यक्रम सञ्चालन नगरपालिकाका न्यायब शुब्बा इश्वरीप्रसाद आचार्यले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया