नवलपुरमा चैतेधान रोपाइँ शुरु

नवलपुर, १० फागुन । नवलपरासी –बर्दघाट–सुस्तापूर्व)मा चैतेधान रोपाइँ शुरु भएको छ । जिल्लाको धान ब्लक कार्यक्रम लागू भएको स्थानमा चैतेधान रोपाइँ शुरु गरिएको हो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं वागवानी विकास अधिकृत शङ्कर पौडेलले धान ब्लक क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारी धान ब्लकमा चैतेधान रोपाइँ शुरु भएको बताउनुभयो । चैतेधानको उत्पादन वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्रले ब्लक क्षेत्र लागू गर्दै कृषकलाई अनुदान वितरण गर्दै आइरहेको छ ।
जिल्लाको गैँडाकोट ११, कावासोती १४ र १७ तथा बुलिङटारमा धान ब्लक क्षेत्र लागू गरिएको छ । धान ब्लक क्षेत्र लागू गरिएको पुरानो स्थानमा प्रति ब्लक २४ लाख रुपैयाँसम्म र नयाँ क्षेत्रमा १२ लाख रुपैयाँसम्म अनुदान दिइने गरेको वागवानी विकास अधिकृत पौडेलले बताउनुभयो । ज्ञान केन्द्रले कृषकको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरणलगायतका लागि अनुदान दिने गरेको पौडेलले बताउनुभयो ।
धान ब्लक क्षेत्र हुनका लागि एकै ठाउँमा १५० हेक्टर जमिनमा धान खेती गरिएको हुनुपर्ने पौडेलले बताउनुभयो । जिल्लामा धानको ब्लक क्षेत्र घोषणा गरेसँगै चैतेधानतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको पौडेलले बताउनुभयो । गत वर्ष ७०० हेक्टरमा रापाइँ भएको चैतेधान यस वर्ष ७५० हेक्टर क्षेत्रफलमा हुने विश्वास गरिएको पौडेलले बताउनुभयो ।
यस वर्ष कावासोती–१४ लाई धान ब्लक क्षेत्रको रुपमा समावेश गरिएका कारण पनि चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि हुने पौडेलको भनाइ छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्यविन्दु, विनयी त्रिवेणी र बुलिङटारमा चैतधान उत्पादन हुँदै आएको छ ।
तपाइँको प्रतिक्रिया