नेपाल टेलिकमको मोबाइल सेवाप्रति गुनासै गुनासो

गैँडाकोट, ३० पुस । नेपाल टेलिकमको मोबाइल सेवा र इन्टरनेट सेवाको गुणस्तरप्रति सेवाग्राहीले गुनासो गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शुक्रबार आयोजित दूरसञ्चार सेवाको गुणस्तर र अनुगमन संयन्त्र विषयक अन्तरक्रियामा सेवाग्राहीले मोबाइल र इन्टरनेट सेवाबाट सन्तुष्ट हुन नसकिएको गुनासो गरेका हुन् ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य वसन्त पराजुलीले पछिल्लो समय गैँडाकोट क्षेत्रमा मोबाइल सेवाको गुणस्तर र नेपाल टेलिकमको फाइबर इन्टरनेट प्रति गुनासो गर्नुभयो । नेपाल टेलिकमले फाइबर इन्टरनेट सेवा प्रदान गरेको भए पनि गैँडाकोटमा सेवाग्राहीहरुले सहज रुपमा टेलिकमको फाइबर नेट चलाउन नपाएको पराजुलीले बताउनुभयो । त्यस्तै टेलिफोनमा समस्या आएको बारे गुनासो गर्दासमेत मर्मत नभएको पराजुलीले बताउनुभयो ।
सोही अन्तरक्रियाका क्रममा गैँडाकोटको अक्सफोर्ड कलेजका प्रिन्सिपल इन्जीनियर हरि भण्डारीले एकै स्थानमा समेत नेपाल टेलिकमको मोबाइल इन्टरनेटमा फरक फरक नेटवर्क आउँदा समस्या हुने गरेको बताउनुभयो । एक ठाउँमा बसेर मोबाइल डाटा अन गरेर इन्टरनेट चलाउँदा घरि फोर जी देखाउने घरि थ्री जी देखाउने गरेको भण्डारीले बताउनुभयो । नेपाल टेलिकमले सङ्ख्यात्मक भन्दा पनि गुणात्मक सेवातर्फ जोड दिनुपर्ने भण्डारीले बताउनुभयो ।
सुगम भनिएका स्थानमा समेत टेलिकमले आफ्नो सेवा गुणस्तरीय बनाउन नसकेको भण्डारीले बताउनुभयो । अन्तरक्रियाका क्रममा पत्रकार हिमालदेव पङ्गेनीले नेपाल टेलिकमको मोबाइलमा फोन नलाग्ने र आवाज नबुझिने समस्या रहेको बताउनुभयो । फोन नलाग्ने, फोन लागिहाले पनि कुरा नबुझिने र बीचमा फोन काटिने समस्या देखिएको पङ्गेनीले बताउनुभयो । नेपाल टेलिकममा देखिएका समस्यालाई समाधान गर्दै गुणस्तरीय सेवा पु¥याउनु अहिलेको अपरिहार्य आवश्यकता भएको पङ्गेनीको भनाइ छ ।
सो कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले नेपाल टेलिकमको सेवामा गुणस्तर नभएको आफूले समेत पाएको बताउनुभयो । मोबाइल तथा इन्टरनेट समस्यामा देखिएको समस्याबारे सेवाप्रदायकलाई गुनासो गर्न आग्रह गर्दै अर्यालले गुनासो सुनुवाई नभएको अवस्थामा दूरसञ्चार प्राधिकरणमा गुनासो गरेको अवस्थामा आफूहरुले कारबाही गर्ने बताउनुभयो । अर्यालकाअनुसार गुणस्तरीय सेवा प्रदान नगर्ने र सेवाग्राहीको गुनासो सम्बोधन नगर्ने सेवा प्रदायक संस्थालाई नेपाल दूर सञ्चार प्राधिकरणले अनुमतिपत्र खारेजीसम्मको कारबाही गर्नसक्छ ।
दूरसञ्चार प्राधिकरणमा आएका ९५ प्रतिशत भन्दा बढी गुनासोहरु तत्काल सम्बोधन भएका उहाँले बताउनुभयो । सेवा प्रदायकलाई जिम्मेवार बन्न आग्रह गर्दै अर्यालले मोबाइल र इन्टरनेटको मापदण्ड तयार भएकाले सोहीअनुसारको गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । पछिल्लो १० वर्षमा इन्टरनेटको प्रयोगकर्ता ६० गुणाले वृद्धि भएका उल्लेख गर्दै अर्यालले नेपालमा प्रतिव्यक्ति आयको पाँच शुल्कमा इन्टरनेट चलाउन पाउनुपर्ने बताउनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा भएको कार्यक्रममा नेपाल टेलिकम सहित इन्टरनेट प्रदायक संस्था तथा जिल्लाका सरोकारवालाहरुको प्रतिनिधित्व हुनेगरी सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया