एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न हुदैन – रामकुमारी झाँक्री

चितवन, ११ फागुन ।
नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । बुधबार चितवनको भरतपुरमा नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको हो ।
एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुभन्दा कि त सरकार छोडेर सडकमा जानु पर्ने कि त सरकारमा बसेर सडकमा जान नहुने झाँक्रीले धारणा राख्नुभयो । सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उहाँको भनाइ थियो । विरोधाभाष कुरा गर्न नहुने भन्दै झाँक्रीले पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन नभएको बताउनुभयो । सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उहाँले एमसिसी गलत भए आफूहरु ब्याक हुने बताउनुभयो ।
आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताउनुभयो । एमसिसी स्वीकार गर्दा र अस्वीकार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उहाँको भनाइ थियो । पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उहाँले यस विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेकोे भन्दै उहाँले अहिले नेकपा (एमाले)को मौनताले केही असहज बनाएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया