चितवनमा सञ्चालित चुन ढुंगा खानीका कारण स्थानीय विस्थापित हुँदै

चितवन, १२ फागुन । चितवनको कालिका नगरपालिका वडा नम्बर–९ कोलारमा सञ्चालित चुनढुंगा खानीका कारण स्थानीयहरु विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले कोलारमा स्थलगत अध्ययन पछि सार्वजनिक गरेको प्रतिवेदनअनुसार कोलारका ३५ घर विस्थापित हुने अवस्था सिर्जना भएको जनाएको छ ।
चितवनको कालिका नगरपालिका वडा नम्बर ९ स्थित कोलारमा विसं २०६१ देखि चुन ढुंगा खानी सञ्चालनमा आएको छ । उक्त चुन ढुंगा खानी केही समय सञ्चालनमा आउने र केही समय बन्द हुने भए पनि पुनः सञ्चालनको तयारी भइरहेको छ । चुन ढुंगा खानीकै कारण कोलारका धेरै घरपरिवार नै विस्थापित भइसकेका छन् । खानीका लागि स्थानीयलाई दबाबमा पारेर जग्गा बिक्री गर्न बाध्य बनाइएको समेत स्थानीयको गुनासो छ ।
विकास निर्माणका कामहरु गर्दा धेरै आदिवासी जनजातिहरु विस्थापित हुनु परेको गुनासो आएपछि राष्ट्रिय मानव अधिकार आयोगले चितवन, नवलपुर र मकवानपुरका विभिन्न स्थानमा स्थलगत अनुगमन गरेको थियो । प्रभावित ठाउँका नागरिकको समग्र विकासमा वृद्धि हुनेगरी सम्बोधन गर्नुपर्नेमा आयोगको जोड छ । पीडितका गुनासोलाई सम्बोधन गर्दै विकासका गतिविधि अगाडि बढाउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
चुन ढुंगा खानीका कारण चेपाङ समुदायलाई प्रत्यक्ष असर पारेको आयोगले जनाएको छ । खानी सञ्चालनका कारण त्यहाँका पानीको मुल सुक्ने, बर्खामा पहिरो जाने लगायतका धेरै समस्याहरु देखिएका छन् । खानी सञ्चालन पश्चात चुन ढुंगाको लागि आवश्यक पर्ने ढुंगा लिएर जाने तर अनावश्यक कच्चा पदार्थ खानीबाट तल फालिदा खेतीयोग्य जमिनमा समेत प्रभाव पार्ने गरेको आयोगले जनाएको छ ।
चितवन तथा नवलपुरमा विकासमा नाममा स्थानीयहरुलाई विस्थापित गरिँदै आइएको छ । नवलपुरको सर्दीमा समेत २२० केभी प्रशारण लाइनका लागि स्थानीयलाई विस्थापित गराउने तयारी भइरहँदा स्थानीयले विरोध गर्दै आएका छन् । विकासमा आफूहरु बाधक नबन्ने तर विस्थापितलाई उचित बासस्थानको व्यवस्था गर्नुपर्नेमा पीडितहरुको माग छ ।
तपाइँको प्रतिक्रिया