गैँडा मरेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याउँदै

नवलपुर, १५ फागुन । सडक विस्तार गर्ने क्रममा चितवनको भरतपुरमा खनिएको खाल्डोमा परेर एकसिंगे गैंडा मरेपछि वन्यजन्तुमैत्री पूर्वाधार निर्देशिका कार्यान्वयनमा ल्याउन सरकार कस्सिएको छ । मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा हालै दुई पटक छलफलपछि निर्देशिका कार्यान्वयनमा ल्याउन लागिएको हो ।
वन तथा वातावरण मन्त्रालयले सडक, रेल, जलविद्युत्को बाँध, ग्यास पाइपलाइन, सिँचाइ, नहर, नदी नियन्त्रणसम्बन्धी बाँध तथा तटबन्धजस्ता ठूला संरचना बनाउँदा अनिवार्य रूपमा वन्यजन्तुमैत्री हुनुपर्ने व्यवस्थासहितको ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८’ को मस्यौदा गत असोजमै मन्त्रिपरिषद्मा पेस गरेको थियो । मस्यौदामा वन्यजन्तुको आवतजावत सुरक्षित बनाई दुर्घटना कम गर्न तथा मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तु हिँडडुल गर्ने क्षेत्रमा हुने निर्माण वन्यजन्तुमैत्री बनाउनुपर्ने उल्लेख छ ।
मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले निर्देशिका जारी भएपछि पूर्वाधार निर्माणका कारण खण्डीकरण हुँदै गएको वन्यजन्तुको बासस्थान र जैविकमार्ग जोगिने तथा अब बन्ने पूर्वाधार वन्यजन्तुमैत्री हुने बताउनुभयो । अब निकुञ्ज, आरक्ष, जैविकमार्ग र वनभित्र वन्यजन्तुको ओहोरदोहोरमा अवरोध नपुग्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । निर्देशिकामा कमिलादेखि बाघ, गैंडा, जंगली हात्तीलगायत वन्यजन्तु र चराचुरुंगीको ओहोरदोहोरलाई सहज गराउने उद्देश्य राखिएको छ । ओभरपास संरचना बनाउँदा जमिनमा विचरण गर्ने जंगली हात्ती, गैंडा प्रजातिका लागि संरचनासम्मको पहुँचको भिरालोपन २० डिग्रीभन्दा बढी नहुने गरी र चौडाइ कम्तीमा २० मिटर हुने गरी निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
एउटा रूखबाट अर्को रूखमा विचरण गर्ने बाँदर, लोखर्केजस्ता प्रजातिका लागि डोरी, तार तथा अन्य सामग्री प्रयोग गरी नहर, सडक, रेलमार्ग जस्ता पूर्वाधारभन्दा कम्तीमा पाँच मिटरमाथि रहने गरी क्यानोपी ब्रिज निर्माण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । पूर्वाधार तथा वन्यजन्तुमैत्री संरचना बनाउँदा वन्यजन्तुको बासस्थान, जैविकमार्ग र पारिस्थितिकीय प्रणालीमा असर पर्ने कार्य गर्न पाइने छैन । निर्देशिकामा वन्यजन्तुको वर्गीकरणसमेत गरिएको छ ।
जंगली हात्तीलाई धेरै ठूला वन्यजन्तु प्रजातिभित्र राखिएको छ । गैंडा, बाघ, भालु प्रजाति, ठूला मृग प्रजाति, झारल, घोरल, नीलगाई, गौरी गाई, अर्ना ठूला वन्यजन्तु प्रजातिअन्तर्गत पर्छन् । साना जंगली बिरालो प्रजाति, नीर बिरालो, जंगली कुकुर (ढोले), स्याल, ब्वाँसो, लिंक्स, साना मृग प्रजाति, कृष्णसार, चौका, हुँडार, चितुवा प्रजाति, डल्फिन (सोंस), बँदेल प्रजातिलाई मझौला वन्यजन्तु प्रजातिमा राखिएको छ । कछुवा प्रजाति, सर्प प्रजाति, गोहोरो प्रजाति, गोही प्रजाति, छेपारो प्रजाति, भ्यागुताजस्ता उभयचर तथा सरीसृप प्रजाति, लोखर्के प्रजाति, खरायो प्रजाति, दुम्सी प्रजाति, सिभेट प्रजाति, ओत प्रजाति, न्याउरी मुसा, बाँदर प्रजाति, सालक प्रजाति, हाब्रे, चरिबाघ, लिङसाङ, चमेरो जस्ता साना स्तनधारी प्रजातिलाई साना वन्यजन्तु प्रजातिमा समेटिएको छ ।
तपाइँको प्रतिक्रिया