वडाले विकासमा फड्को मार्यो : वडाध्यक्ष सापकोटा

गैँडाकोट, १६ फागुन । स्थानिय तहको निर्वाचनपश्चात गैँडाकोट नगरपालिका वडा नम्वर ९ ले विकासमा फड्को मारेको वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दावी गर्नुभएको छ । नगरपालिकाको धेरै पिछडीएको वडाको रुपमा पहिचान बनाएको यस वडामा पछिल्लो समय उद्योग तथा अन्य व्यवसाय फस्टाउन सकेको कारण नै वडा पहुँचमा पुग्न सफल भएको उहाँको भनाई छ ।
वडाको विकास र पहिचान बनाउनका लागि युवाहरुको आवश्यकता महत्वपुर्ण हुने अध्यक्ष सापकोटाले बताउनुभयो । वडामा युवाहरुको पहलमा नै धेरै विकासका कामहरु सम्पन्न भइसकेको उहाँको भनाई छ । वडामा नवजागरण विकास केन्द्रले खेलमैदान निर्माण गरेर गैँडाकोट नगरपालिकामा नै पहिलोपटक गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्नुले वडाको उचाई अझ बढाएको उहाँले उल्लेख गर्नुभयो ।
वडा नम्वर ९ लाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले वडामा पिकनिक स्पोर्टस् र हनुमानको मन्दिर निर्माण भइसकेका छन् । वडाध्यक्ष सापकोटाले भर्खरै सम्पन्न भएको वडा कार्यालय भवन र सत्संगका भवनहरुमा औपचारिक कार्यक्रम गर्नसमेत सहज भएको बताउनुभयो ।
२०७४ बैशाख महिनामा भएको स्थानिय तहको निर्वाचनपछि प्रेमप्रसाद सापकोटा वडा नम्वर ९ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । सोमबार वडामा आयोजिक एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा थुप्रै विकास निर्माणका कामहरु सम्पन्न गरेको उल्लेख गर्नुभयो ।
तपाइँको प्रतिक्रिया