बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम अभाव भएको भन्दै ब्याजदर बढाउन शुरु

गैँडाकोट, १७ फागुन । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम अभाव भएको भन्दै ब्याजदर बढाउन शुरु गरेका छन् । स्थानीय स्तरमा सञ्चालित सहकारी सहितका वित्तीय संस्थालगायत राष्ट्रिय सञ्जाल भएका बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका हुन् ।
बैंक तथा वित्तीय संस्थासँग विभिन्न कारणले तरलता अभाव भएको छ । बैंक तथा वित्तीय संस्थाको लगानी योग्य रकमलाई तरलता भनिन्छ । लगानी गर्नसक्ने रकम नै वित्तीय संस्थाहरुसँग अभाव भएपछि उनीहरु ब्याजदर बढाउन तर्फ लागेका हुन् । अहिले सबै वित्तीय संस्थाहरुले ब्याजदर परिवर्तन गरिरहेका छन् ।
बचतमा दिने ब्याजदर वृद्धिसँगै उनीहरुले लगानी गर्ने रकममा समेत ब्याजदर वृद्धि गरेका छन् । बचतको तुलनामा ऋण लगानी धेरै हुनु, रेमिट्यान्समा कमी आउनु, नगद औपचारिक प्रणालीमा नआउनु, आयातमुखी अर्थतन्त्र हुनुलगायत विभिन्न कारणले वित्तीय संस्थामा तरलता अभाव देखिएको हो ।
बचतमा ब्याजदर बढाएरै भए पनि वित्तीय संस्थाहरुले तरलता अभावलाई कम गर्ने प्रयास गरिरहेका छन् । ब्याजदरका कारण वित्तीय संस्थाको औपचारिक प्रणालीमा बचत ल्याउने कोसिस भएको वित्तीय संस्थाहरु बताउँछन् । यद्यपि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदै तरलता अभाव कम हुन्न भन्ने चाहीँ नहुने सहकारी सञ्चालकहरु बताउँछन् ।
बाणिज्य बैंकहरुको नियमाक निकायको रुपमा नेपाल राष्ट्र बैंक रहेको छ । तर, सहकारी संस्थाहरुको लागि सरकारी तवरबाट कुनै पनि नियकाले नियमन गर्ने गरेको छैन । यद्यपि सहकारीहरुको केन्द्रीय संघ नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्सकुन)ले केहीमात्रामा भए पनि सहकारीहरुको ब्याजदर र अन्य कुरामा नियमन गर्दै आएको छ । तरलता अभाव कम गर्नका लागि सहकारीहरुले बचतमा ब्याजदर बढाएसँगै ऋणमा १६ प्रतिशत भन्दा बढी ब्याजदर लिन नपाउने गरी नेफ्सकुनले अनुमगन गर्ने जनाएको छ ।
तपाइँको प्रतिक्रिया