निर्माणको क्रममा दुईपटक भाँच्चिएको ठिमुरा पुलमा गरियो क्षमापूजा

गैँडाकोट, १७ फागुन । चितवन र देवघाट जोड्ने पक्की पुल निर्माणका क्रममा पटक पटक भाँच्चिएर मानवीय क्षति भएपछि क्षमापूजा गरिएको छ । तीन वर्षभित्र निर्माण सकिसक्ने गरी २०७१ कात्तिक २० मा निर्माण सम्झौता भएको चितवनको भरतपुर महानगरपालिका १ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल सात वर्षसम्म पनि निर्मार्ण कार्य पूरा हुन सकेको छैन ।
ठेकेदारको लापर्बाहीका कारण पुल निर्माणको क्रममा दुईपटक भत्कियो २ जना कामदारको मृत्यु समेत भयो । निर्माणको क्रममा पुल भत्किएर मानवीय क्षती समेत भएपछि धार्मिक गुरुहरुको सुझावका आधारमा मंगलबार क्षमा पूजा गरिएको ठिमुरा चितवन देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो ।
गतवर्षको चैत २४ गते बिहानै ठिमुरातर्फ भर्खर ढलान गरिएका कंक्रिटका दुईवटा स्पान भत्किएका थिए । त्यसको एक महिना पनि नहुँदै २०७८ वैशाख १२ गते पुलकोबीच भागमा बनिरहेको ८० मिटर लम्बाइको स्टिल स्पान भत्किएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष पौडेलले पुल निर्माणमा हदैसम्म लापर्बाही गरिएकोले आफूहरुले ठेकेदारलाई कार्बाही गरी बाँकी काम अगाडि बढाउन सुरुका दिनदेखि दबाब दिँदै आएको र अहिले काम पनि शुरु हुन थालेको बताउनुभयो । सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रुपैयाँ रहेकामा पछि भेरियसन गरेर २१ करोड ६८ लाख पु¥याइएको थियो । त्यसको झण्डै ७५ प्रतिशत रकम ठेकेदार कम्पनीले लगिसकेको छ ।
निर्माणको जिम्मा लिएको इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले पुल भत्किएपछि खासै काम गरेको छैन । निर्माण कम्पनीले १० करोड जतिको क्षति भएको बताउँदै आएको छ । ठेकेदार कम्पनीले बीमाबाट आउनुपर्ने रकम नआउँदा टेको लगाउने समेत पैसा नभएकोले काम गर्न ढिला भएको बताएको थियो । यो पुल सम्झौताअनुसार तीन वर्षभित्र २०७४ कात्तिक १९ सम्म पुल बनिसक्नुपर्ने थियो । तर, सम्झौता सकिए पनि विभिन्न बहानामा चार पटकसम्म म्याद थप गर्दै आएको ठेकेदार कम्पनीको म्याद २०७८ असार १२ सम्म तोकिएको थियो ।
सो पुल ८.५ मिटर फराकिलो र २२० मिटर लामो छ । डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कंक्रिटका ४०/४० मिटरका तीनवटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ ।
तपाइँको प्रतिक्रिया