गैँडाकोटमा टेलिकमको फाइबर सेवा विस्तारको काम शुरु

नवलपुर, १८ फागुन । नेपाल टेलिकमको गैँडाकोट कार्यालयले फाइबर तार विस्तार गर्दैछ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा सडक विस्तारसँगै टेलिकमको सेवा विस्तार समेत अगाडि बढाइँदै छ ।नारायणगढ–बुटवल सडक विस्तारको क्रममा गैँडाकोट क्षेत्रमा विद्युत्को नयाँ पोल गाडिएपछि टेलिकमले सेवा विस्तारको काम अगाडि बढाएको हो । सेवा विस्तारका लागि गैँडाकोट २ पुलचोकबाट गैँडाकोट ८ किसान चोकसम्म सडकको उत्तरतर्फ फाइबर तार बिच्छाउनका लागि खाल्डो खन्ने काम भइरहेको छ । नेपाल टेलिकम गैँडाकोटका प्रमुख अर्जुनकुमार लामिछानेका अनुसार अहिले करिब साढे चार किलोमिटर फाइबर तार बिच्छाइदैछ ।
पुरानो तामाको तारलाई विस्थापित गर्दै नयाँ फाइबर तार बिच्छाउने कामलाई अगाडि बढाइएको लामिछानेको भनाइ छ । अहिले नेपाल टेलिकमको ‘फाइबर टु होम’ सेवा गैँडाकोटको वडा नम्बर १, २, ५, ६ र ८ का केही भागमा मात्रै दिइएको छ । राजमार्गको उत्तरतर्फ चार बिच्छाउने काम सकेपछि वडा नम्बर २, ४ र ८ को सबै भागमा फाइबर टु होम सेवा पुग्ने कार्यालय प्रमुख लामिछानेले बताउनुभयो ।
टेलिकमले पहिले वितरण गर्दै आएको एडिएसल सेवा विस्थापित गर्दै नयाँ सेवा प्रदान गर्नका लागि समेत फाइबरको प्रयोग गर्न लामिछानेले आग्रह गर्नुभयो । एडिएसएलमा तामाको तारबाट इन्टरनेट सेवा दिइने गरेको भन्दै त्यसको गति कम हुने गरेको लामिछानेले बताउनुभयो ।
अहिले फाइबरबाट दिइने सेवा गुणस्तरीय, उच्च गतिको हुने भएकाले सेवाग्राहीबाट गुनासो समेत नआएको लामिछानेको भनाइ छ ।
जिल्लामा २०७६ बाट फाइबर विच्छाउन सुरु गरिएको थियो । गैँडाकोट नगरपालिकामा भने ७७ जेठबाट फाइबर सेवा सुरु गरिएको थियो । टेलिकमको गैँडाकोट शाखा कार्यालयले आफ्नो क्षमता विस्तार गर्दै तीन हजार ग्राहकलाई फाइबर सेवा प्रदान गर्नसक्ने बनाएको लामिछानेले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया