पत्रकार महासंघ नवलपुरको स्थापना दिवसमा खाद्यान्न वितरण

नवलपुर, १८ फागुन । नेपाल पत्रकार महासंघको कान्छो जिल्ला शाखाको रुपमा रहेको नेपाल पत्रकार महासंघ नवलपुरले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा खाद्यान्न वितरण गरेको छ । सिंगो नवलपरासी जिल्ला शाखा दुई वटा शाखामा विभाजन भएपछि विसं २०७५ फागुन १८ गते नवलपुर शाखा स्थापना भएको थियो ।
स्थापना दिवसको अवसर पारेर बुधबार पत्रकार महासंघ नवलपुरले कावासोती–८ मा रहेको मौलाकालिका अपाङ्ग सेवा संस्थामा खाद्यान्न वितरण गरेको हो । स्थापना दिवसका अवसरमा शुभकामना दिँदै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले श्रमजीवीको मुद्दामा महासंघ सधैँ एक भएर अघि बढिरहने बताउनुभयो । साथै उहाँले पत्रकार महासंघ सबैको साझा संगठन भएकाले महासंघमा सबै पत्रकारको अपनत्व हुने गरि काम गर्दै जाने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रमेशचन्द्र बस्ताकोटीले स्थापना दिवसको दिन अपाङ्ग सेवा संस्थामा खाद्यान्न वितरण कार्यक्रमले समाजमा सकरात्मक कार्यको थालनी भएको बताउनुभयो । पत्रकार महासंघ सबैको छाता संगठन भएकाले पत्रकारको हकहितका लागि सधैँ लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नवीन पौडेलले रचनात्मक र क्षमता अभिवृद्धिमा पत्रकार महासंघले कार्य गर्दै आएको हुनाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
स्थापना दिवसको अवसरमा आयोजित खाद्यान्न वितरण कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया