मूल्य वृद्धिका कारण निर्माण व्यवसायीलाई घाटा

चितवन, १९ फागुन । सरकारको विभिन्न नीति नियमका कारण निर्माण व्यवसायीलाई काम गर्न समस्या परेको उनीहरुले गुनासो गरेका छन् । निर्माण व्यवसायी संघ चितवनका वार्षिक साधारणसभाका एवं अधिवेशनका क्रममा व्यवसायीहरुले विकास निर्माणको काममा ढिलासुस्ती हुनुको कारण निर्माण व्यवसायी मात्रै नभएको बताएका छन् ।
सरकारले व्यवसायीहरुसँग छलफल र सहकार्यहरु नगरी विभिन्न नीति, नियम ल्याउँदा काम गर्नै समस्या हुने गरेको निर्माण व्यवसायीहरुले बताएका छन् । निर्माण व्यवसायीको गल्तीका कारण भन्दा पनि सरकारी संघसंस्थाहरुको असहयोगका कारण निर्माणमा ढिलासुस्ती हुँदा समेत आयोजनाको म्याद नथपिनु दुखद भएको व्यवसायीहरुको भनाइ छ । निर्माणको क्रममा व्यवसायीले काम गर्दा गर्दै पनि सरकारी कार्यालयले प्रकृया नपु¥याएका कारण कुनै दुर्घटना भएमा व्यवसायीले दुख पाउने गरेको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशवप्रसाद लामिछानेले बताउनुभयो ।
देशभर १५ हजार निर्माण व्यवसायी भए पनि महासंघले समेत उनीहरुको हकहितमा काम गर्न नसकेको व्यवसायीका भनाइ छ । निर्माण कार्य समयमै पूरा नहुनुमा ७५ प्रतिशत दोष निर्माण कम्पनी बाहेकका संघसंस्थाको हुने उनीहरुले बताएका छन् । निर्माण कार्य समयमा पूरा नभएको बारे स्वतन्त्र रुपमा अनुगमन गरेर दोषिलाई कारबाही गर्नुपर्नेमा निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलले माग गर्नुभयो ।
सरकाले टेन्डर माग गर्दा घटिघटाउँमा ठेक्का कबोल गर्ने परिपाटीका कारण निर्माणमा गुणस्तरीय काम हुन सकेको छैन । राज्यको विकास खर्च थोरै हुनुमा व्यवसायीको दोष नभएको भन्दै यसमा सरकारले नीति परिवर्तन गर्नुपर्ने व्यवसायीहरुको माग छ । तरलता अभाव र मूल्य वृद्धिका कारण व्यवसायीले कामलाई गति दिन नसकेकाले यसलाई सरकारले सम्बोधन गर्नुपर्नेमा निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले बताउनुभयो ।
निर्माण व्यवसायी संघ चितवनको वार्षिक साधारणसभा एवं अधिवेशनका क्रममा व्यवसायीहरुले सरकारले ल्याउन लागेको नियमावलीको ११औँ संशोधनको स्वागत गरेका छन् । एउटा कम्पनीले एकै पटकमा पाँच वटा भन्दा बढी ठेक्का लिन नपाउने, तीन देखि १० अर्ब रुपैयाँको ठेक्कामा विदेशी कम्पनीले नेपाली कम्पनीसँग ज्वाइन्ट भेन्चरमा काम गर्नुपर्नेलगायतका राम्रा बुँदाहरु समावेश गरिएको भन्दै स्वागत गरेका हुन् ।
साधारणसभाका क्रममा संघले चितवनका पत्रकारहरु सूर्यप्रसाद अधिकारी, रामकान्त पौडेल, राजेन्द्र आचार्य र रवीना पौडेललाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने निर्माण व्यवसायीका छोराछोरी कृपेश आचार्य, मुस्कान कँडेल र अनुष्का अधिकारीलाई पनि पाँच हजार रुपैयाँ सहित सम्मानपत्रबाट सम्मानित गरेको छ । त्यसैगरी निर्माणको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै निर्माण व्यवसायीहरु कविराज अधिकारी, ज्ञानुप्रसाद शर्मा, शिवकुमार श्रेष्ठ, कृष्णबहादुर तामाङ, बलराम बगाले, चन्द्रप्रसाद अधिकारी, उमाशंकर बस्ताकोटी र दिलबहादुर गुरुङलाई सम्मान पत्रले सम्मान गरिएको छ ।
तपाइँको प्रतिक्रिया