नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुरु

चितवन, १९ फागुन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन बिहीबारदेखि शुरु भएको छ । नारायणगढस्थित नारायणी कला मन्दिरमा अधिवेशन शुरु भएको हो ।
दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन बिहीबार निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन तालिका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन गरिएको छ । त्यस्तै दिउँसो उम्मेदवार मनोनयन दर्ताको कार्य चलेको छ ।
दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, १ः३० बजेदेखि २ बजेसम्म दावी विरोध, २ः१५ बजे दावी विरोध पश्चात उम्मेदवारहरुको दोस्रो नामावली र २ः१५ देखि ३ः३० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएको थियो । बिहीबार अन्तिम अन्तिम नामावली प्रकाशन र शुक्रबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया अघि बढ्ने जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसपटक अधिवेशन उद्घाटन सत्र सामान्य रुपमा गर्न लागिएको छ । शुक्रबार बिहान मतदान अघि जिल्लामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति जीतनारायण श्रेष्ठले संयुक्त रुपमा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै अपरान्ह ५ बजेसम्म मतदान चल्ने छ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
चितवन कांग्रेसको नयाँ नेतृत्वका लागि पाँच जना चुनावी मैदानमा छन् । बुधबार रातिसम्म सर्वसम्मत उम्मेदवार बन्न सकेन । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिको उम्मेदवार हालका वाग्मती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ बन्नुभएको छ । त्यस्तै संस्थापन इतरले साझा उम्मेद्वार चयन गर्न सकेन । नारायणगढस्थित नारायणी कलामन्दिरमा निर्वाचन प्रक्रिया बिहीबारदेखि सुरु भएको हो ।
बिहीबार उम्मेदवारहरु मनोनयन दर्ता गराएका हुन् । जिल्ला सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । संस्थापनका तर्फबाट मिलनबाबु श्रेष्ठ तथा संस्थापन इतर समूहबाट उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरे चुनावी मैदानमा हुनुहुन्छ भने कैलाश कोइरालाको समेत जिल्ला सभापतिका लागि उम्मेदवारी परेको छ । त्यस्तै दुई उपसभापतिका लागि १५, दुई सचिका लागि आठ तथा दुई सहसचिवका लागि आठ जनाको उम्मेदवारी परेको छ ।
तपाइँको प्रतिक्रिया