हस्तकलाका सामग्री बनाउनुहोस्, विक्री गर्ने जिम्मा हामी लिन्छौ : छत्रराज पौडेल

गैँडाकोट, २० फागुन । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नगरपालिकामा हस्तकलाका माध्यमबाट उत्पादन भएका सामग्रीको बजारिकरणको जिम्मा नगरपालिकाले लिने बताउनुभएको छ । शुक्रबार मौलाकालि सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा गरिब तथा बिपन्न वर्गका महिलाहरुलाई प्रदान गर्न लागिएको हस्तकला तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मेयर पौडेलले तालिम लिएपश्चात बनाइएका सामग्रीको बेचविखनको लागि कुनै समस्या नभएको बताउनुभएको हो । साथै उहाँले तालिम लिइसकेपछि त्यसलाई आयआर्जनको रुपमा उतार्न सकिएन भने त्यो तालिमको कुनै अर्थ नरहने भन्दै सिकेको सिप व्यवहारमा प्रयोग गर्न सबै प्रशिक्षार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा मौलाकाली वन उपभोक्ता समुहका अध्यक्ष हरिप्रसाद सापकोटाले वनको महिला शसक्तिकरण तथा गरिवी न्युनिकरण कार्यक्रम अन्तर्गत पहिलेदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउँदै अहिले हस्तकलाको तालिम दिन लागिएको बताउनुभयो । उहाँले हस्तकलाका माध्यमबाट विभिन्न प्रकारका सामग्री बनाउने र प्रदर्शन गर्ने गरेमा मौलाकालिका मन्दिर दर्शनका लागि आउने पर्यटकलाई यसले प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा गैँडाकोट नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा, वडा नम्वर २ का वडाध्यक्ष धुर्वराम पौडेल, मौलाकालि वन उपभोक्ता समुहका सल्लाहकार समिति संयोजक सालिकराम सापकोटा, सल्लाहकार समिति सदस्य राधा लामिछाने, उपभोक्ता समुहको महिला सशक्तिकरण कार्यक्रम संयोजक इन्दिरा शर्मा, गैँडाकोट सवडिभिजन वन कार्यलयका प्रमुख सुर्यसिंह गुरुङ लगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
मौलाकालि वन उपभोक्ता समुहका अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा समुहका उपाध्यक्ष भगवान घिमिरेले स्वागत र सचिव देवकी मिश्र पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
वनले गरिवी न्युनिकरण तथा महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत हरेक वर्ष आयस्रोतको २५ प्रतिशत रकम छुट्याउँदै आएको छ । सोहिअनुरुप उक्त तालिम दिन लागिएको वनले जनाएको छ । सात दिन सम्म सञ्चालन हुने सो तालिममा १७ जना महिलाहरु सहभागि भएका छन् ।
तपाइँको प्रतिक्रिया