नेतृत्वको कुशल निर्णयले गठबन्धन जोगियो : प्रचण्ड

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् ।
माओवादी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीमा आफ्नो कुशल निर्णयले गर्दा मुलुकमा आइलागेको दुर्घटना पनि टरेको र गठबन्धन चुनावसम्मै लैजान सफल भएको दाबी गरेका छन् । उनको आफ्नो सही निर्णयले नेपालको राजनीतिले नै नयाँ कोर्स समातेको पनि दाबी गरे।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले खबरहबलाई दिएको जानकारी अनुसार प्रचण्डले माओवादीले एमसीसीमा समर्थन गरेसँगै मुलुक अन्योल र प्रतिगमनतिर फर्कने खतरा टरेको बताउँदै संविधानको, लोकतन्त्रको र राष्ट्रियताको रक्षाका आफूले एमसीसीमा समर्थन गर्ने निर्णय गरेको दाबी गरे ।
प्रचण्डले संकल्प प्रस्तावसमेत पारित गर्दै देशको राष्ट्रियतालाई कहिँ कतै आँच नपुर्याउने गरी एमसीसी पारित भइसकेकाले अब यो विषयमा रुमलिनु ठिक नभएको समेत दाबी गरे।
तपाइँको प्रतिक्रिया