सामाजिक सञ्जालको दुरुपयोग गरि अनुसन्धान कार्यमा असर पुर्याउनेलाई कारबाही गछौं : साइबर ब्युरो

काठमाडौं, २० फागुन । नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालहरुको दुरुपयोग गर्नेलाई कारबाही गर्ने बताएको छ । प्रविधिको दुरुपयोग गरि अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पारेको भन्दै पीडितको गोपनीयता भंग हुने गरी भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको हो ।
प्रहरी प्रधान कार्यलय भोटाहिटी काठमाडौंका साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले एक विज्ञप्ति जारी गर्दै पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति सामाजिक सञ्जालमा देखिएको भन्दै ब्युरोले यस्ता क्रियाकलापहरू विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ ।
‘विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर व्यूरो अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया