राष्ट्रिय स्तरको प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा नवलपुर विजयी

गैँडाकोट, २१ फागुन ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा राष्ट्रिय स्तरको प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबार सुरु भएको छ । नव जागरण ग्रामीण विकास केन्द्रको आयोजनामा स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकुद भन्ने नाराका साथ गैँडाकोट–९ थुम्सीमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर क्रिकेट क्लबले बवाग्लुङ क्रिकेट क्लबलाई ७४ रनले पराजित गर्दै विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको नवलपुरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाएको थियो । नवलपुरको जितका लागि ब्याट्समेन कमल परियारले २१ बलमा एक छक्का र चार चौकाको सहायतामा ४८ रन बनाउनुभयो । त्यस्तै दीपक डुम्रेले २३ रनको योगदान दिनुभयो भने अन्य ब्याट्समेनले दोहोरो अङ्क जोड्न सकेनन् ।
बलिङतर्फ बाग्लुङका छन्त्यालले तीन ओभरमा २५ रन खर्चिदै पाँच विकेट लिन सफल हुनुभएको थियो । १३५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बाग्लुङले १५ ओभरमा सबै विकेटको क्षतिमा ६० रन मात्रै बनाउन सफल भयो । बलिङतर्फ विजेता टिमका कमल परियारले तीन विकेट लिनुभएको थियो । शनिबारकोे खेलमा नवलपुर क्रिकेट टिमका परियार म्यान अफ दी म्याच घोषित हुनुभयो
सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले खेल स्वास्थ्यका लागि महत्वपुर्ण भएको बताउनुभयो । उहाँले खेलकै माध्यमबाट कतिपय राष्ट्र परिचित बनेको भन्दै गैँडाकोट–९ थुम्सीमा रहेको खेलमैदान क्रिकेटको राष्ट्रिय खेलमैदानको रुपमा स्थापित हुन सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले गैँडाकोट नगरपालिकामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुनु र खेलाडिले उत्साह देखाउनुले नगरपालिकाको पहिचान बढेको बताउनुभयो । उहाँले खेलप्रेमी युवाहरुको पहिचान गरेर यस्तै खालका धेरै कार्यक्रम आयोजना गर्न सकेको खण्डमा नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त गर्ने सक्ने उल्लेख गर्नुभयो ।प्रतियोगितामा नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, कास्की र चितवनका गरी आठ टिम भाग लिएका छन् ।
तपाइँको प्रतिक्रिया